दलहरू आगामी चुनावमा केन्द्रीत, वाम गठबन्धन अझै अनिश्चित

दलहरू आगामी चुनावमा केन्द्रीत, वाम गठबन्धन अझै अनिश्चित


प्रचण्ड र माधव नेपाललाई बोकेर हिँड्न अहिलेसम्म केपी तयार हुनुहुन्न । उहाँ काङ्ग्रेस र एमालेबीच उच्च तहको समझदारी बनाएर चुनावमा जाने मानसिकतामा रहनुभएको छ । एक्लै चुनावमा जान काङ्ग्रेस तयार भए एमालेले पनि कसैसँग चुनावी गठबन्धन नगर्ने केपीको भनाइ छ ।


सत्तापक्षीय घटक र विपक्षी दलहरू आगामी संसदीय निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने निश्चित उपायको खोजिमा केन्द्रीत रहेका छन् । यतिबेला चरम महँगीमा वृद्धिलगायतका समस्याले जनजीवन कष्टकर बनेको छ, तर दलका नेताहरू देशको विकराल समस्या समाधानप्रति पूर्ण उदासिन रहेका छन् । आउँदो निर्वाचमा कसरी विजयी बन्ने र, सत्ता कुन उपायले हात पार्ने भन्ने विषयमै दलका नेताहरूको ध्यान केन्द्रीत हुन पुगेको छ ।

सत्ता गठबन्धनका दलहरू आगामी संसदीय निर्वाचनमा पनि नेकपा एमालेविरुद्धको मोर्चाबन्दी कायम राख्ने पक्षमा छन् भने एमालेचाहिँ अलमलको स्थिति र मनस्थितिमा रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपाल र प्रचण्डसँग सहकार्य गर्ने मानसिकतामा अहिले पनि छैनन् । वामपन्थी गठबन्धनका नाममा झारपात बटुलेर हिँड्नुभन्दा बरु काङ्ग्रेस र एमाले आमुन्ने-सामुन्ने भएर लड्दा आउने चुनावी परिणाम सही हुने बुझाइ केपी ओलीमा रहेको छ । त्यसैले माओवादी अध्यक्ष प्रचण्डको प्रतिनिधि बनेर केपी ओलीसँग कुराकानी गर्न बालकोट पुगेका नेता नारायणकाजी श्रेष्ठलाई पनि ओलीले रित्तै हात फर्काइदिएका छन् ।

एमाले, माओवादी र समाजवादी दलहरूभित्र कार्यकर्तादेखि दोस्रो तहका नेताहरूसम्म वाम गठबन्धनका पक्षमा प्रकट भएका छन् । ‘कुरा मिलेको स्थिति’मा केपीसँग सहकार्य गर्न माधवकुमार नेपालसमेत तयार रहनुभएको बताइन्छ । उता प्रचण्ड भने पचास निर्वाचन क्षेत्र काङ्ग्रेसले माओवादीका लागि छोड्ने स्थिति नबनेको अवस्थामा मात्र एमालेसँग गठबन्धन गर्ने मानसिकतामा रहनुभएको बताइन्छ । प्रचण्डको प्राथमिकतामा निष्ठा र मित्रताभन्दा ‘राजनीतिक व्यापार’ परेको छ । त्यसैले उहाँ जोसँग मिल्दा आफूलाई बढी फाइदा हुन्छ उसैसँग चुनावी एकता गर्ने मानसिक योजनामा रहनुभएको बुझिन्छ ।

गत आइतबार (जेठ २९) वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई केपीसँग छलफल गर्न पठाइनुको मूख्य कारण ‘स्थिति विचार’का निम्ति मात्र भएको अनुमान वामविश्लेषकहरूको छ । उच्च तहका नेतालाई केपीसँग संवाद गर्न पठाएपछि काङ्ग्रेसका नेताहरू तरङ्गित हुने र, आफ्नो ‘बार्गेनिङ क्यापसिटी’ बढ्ने विश्वासका आधारमा प्रचण्डले नारायणकाजीलाई केपीको निवासस्थानमा पठाउनुभएको भनाइ पनि कतिपयको छ । जे होस्, प्रचण्ड र माधव नेपाललाई बोकेर हिँड्न अहिलेसम्म केपी तयार हुनुहुन्न । उहाँ काङ्ग्रेस र एमालेबीच उच्च तहको समझदारी बनाएर चुनावमा जाने मानसिकतामा रहनुभएको छ । एक्लै चुनावमा जान काङ्ग्रेस तयार भए एमालेले पनि कसैसँग चुनावी गठबन्धन नगर्ने केपीको भनाइ छ ।

प्राप्त जानकारीअनुसार काङ्ग्रेस एक्लैले सरकार चलाउनुपर्ने अवस्था आएमा एमालेले बाहिरबाट देउवालाई समर्थन दिएर चुनावसम्म सँगै जाने सोच केपीले बनाउनुभएको छ । यसरी केपी ओलीले बिनागठबन्धन चुनावमा जान प्रस्ताव गरेको भए पनि शेरबहादुर देउवाले केपीको प्रस्तावमा सहमति जनाउनुभएको छैन । प्रचण्ड र माधवको सहयोगबाट संसद्को सबैभन्दा ठूलो दल बन्ने र, त्यसपछि प्रधानमन्त्री बन्ने योजना पालेर बस्नुभएका शेरबहादुर देउवा केपीको प्रस्तावप्रति अहिलेसम्म सकारात्मक हुनुहुन्न । उहाँ माओवादीलाई पचास निर्वाचन क्षेत्र छोडेर भए पनि चुनावी गठबन्धन गर्ने मानसिकतामा रहनुभएको बताइन्छ ।

गत संसदीय निर्वाचनमा माओवादीलाई मिलाउन नसक्दा काङ्ग्रेस १६५ मध्ये २३ स्थानमा सीमित हुनुपरेको तिक्त घटनाबाट देउवाले पाठ सिक्नुभएको छ । नब्बे निर्वाचन क्षेत्रमा मात्र काङ्ग्रेसले उम्मेदवारी दिएर ७५ स्थानमा विजय हाशील गर्न सकियो भने काङ्ग्रेसका निम्ति ठूलो उपलब्धि हुने देउवाको बुझाइ छ । यस प्रकारको मानसिकता बनाएर बस्नुभएका देउवा कदाचित वाम गठबन्धन बनेमा कसरी निर्वाचनमा जानुहोला, प्रतीक्षा र जिज्ञासाको विषय बनेको छ ।