सबैको मन जितिरहेका जितबहादुर अर्थात् जितु नेपाल !

सबैको मन जितिरहेका जितबहादुर अर्थात् जितु नेपाल !


  • राजन घिमिरे

हेर्दा निकै सामान्य लाग्दछन् जितबहादुर नेपाल, अर्थात जीतु नेपाल । आज नाम, दाम र शानको शिखरमा पुग्दा पनि उनमा दम्भ, घमण्ड कहिल्यै पनि देखिएन । संघर्ष, दुःख, कष्ट र त्यागका थुप्रै पहाडहरू चढेका जीतु नेपाल नेपाली हांस्य कलाकारिता फाँटका ठूलो छाती र सोच भएका कलाकार हुन् ।

कलाकारिता क्षेत्रमा निकै सामान्य तरिकाले प्रवेश गरेका थिए जितु नेपाल । न कलाकारिता क्षेत्रमा उनको पारिवारिक ब्याकग्राउण्ड थियो न त उनलाई हात समाएर हिँडाउने कोही अगुवा नै थिए । शुरूको समयमा उनको दुःख सुखको साथी थिए कलाकार दमन रूपाखेती । केही समय यो जोडी जमैकै थियो तर, पछि जितु एक्लै कलाकारिताको मैदानमा उत्रिए भने दमन पनि एकल रूपमा लागेका थिए ।

आज सबै कुराबाट भरिपूर्ण हुँदा पनि जीतु सामान्य नै लाग्छन् । उनको ब्यवहार र उपस्थिति साँच्चै शालीन, भद्र र सौम्य नै छ । शारीरिक रूपमा सानो कदका जितु सोच, उद्देश्य र विचार ठूलो भएका कालाकार हुनुभन्दा फरक नपर्ला । उनी भन्छन्- ‘म भगवानसँग यही प्रार्थना गर्छु कि यहीँ सामान्य जीवन बिताऊँदाबिताउँदै कलाकारितामा लागेर देह त्याग गर्न पाउँ ।’

आज जितु जुन स्थापना छन् त्यहाँ पुग्न जितुको आफ्नै मिहेनत र संघर्ष छ । शुरूका समयमा दिनेश डिसीको ट्वाक्कटुक्क नै उनको लागि अमृत समान भैदियो । धेरै कलाकारहरू जन्माएको ट्वाक्कटुक्कबाट जन्मिएका एक कलाकार हुन् जितु । टेलिभिजनको पर्दामा प्रवेश गराउने ट्वाक्कटुक्कदेखि गीतान्जलीसम्म आइपुग्दा उनी स्थापित भैसकेका थिए । टेलिभिनबाट जन-जनमा पुगेपछि जितुले ठूलो पर्दाका चलचित्रहरूमा पनि दह्रै उपस्थिति जनाउने अवसरहरू पाए ।

पछिल्लो समय मुन्द्रेको कमेडी क्लबमार्फत त जितुले आफ्नो क्षमता दक्षतालाई झनै बृहत बनाउने अवसर पाए । नेपालका ‘एकल स्टेज शो’गरेर स्टेज कभर गर्न सक्ने र दर्शकहरूलाई मन्त्रमुग्ध पार्न सक्ने थोरै कलाकारभित्र पर्दछन् जितु नेपाल ।

जीवनमा कलाकारिता बाहेक जितुले न केही जाने न त केही सोचे । न केही गरे न त कलाकारितालाई माध्यम बनाएर अरू नै विधामा हात हाले । करिव दुई दशकभन्दा लामो समयदेखि कलाकारितामा आजसम्म अथक रूपमा भिडेकोभिड्यै छन् जितु- ‘अझै पनि संघर्ष र मिहेनतमै छु । नयाँ-नयाँ खुराकहरू कसरी दिने ? पुरानादेखि आजका पुस्तासम्मको मन कसरी जित्ने ? यही कोशिसमा लागिरहेको छु र लागिरहने छु’, जितुले प्रतिबद्धता ब्यक्त गरे- ‘दर्शकहरूले जे गर्दै आएको छसु त्यही गर् भन्नुभएको छ र, म पनि दर्शकहरूको विश्वास र सुझावलाई शिरमा राखेर कलाकारिताको कर्ममा लागेको छु ।’

उमेरले कति वर्ष पुगे होलान् जितु नेपाल ? त्यसको हिसाबकिताब नगरौँ । भनिन्छ नि, मानिसलाई उमेरले होइन, कर्मले नाप्ने गरौँ । हो, जितु पनि कर्मशील र कर्ममा रमाउने कलाकार हुन् । त्यसैले हास्यकलाकरिता विधामा जितुले बिताएका वर्ष, फटाएका भोटा र कटाएका उमेर कम छैन । आगामी दिनहरूमा पनि जितुको सक्रियता, उत्साह, जाँगर, हौशला र निरन्तरतामा कहिले पनि कमी नआओस् ।