युनाइटेड सिमेन्ट उद्योगले दियो स्थानीयलाई सास्ती

युनाइटेड सिमेन्ट उद्योगले दियो स्थानीयलाई सास्ती


  • विकास रौनियार, धादिङ

धादिङको धुनिबेसी नगरपालिका-९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीयलाई बसाइँ सर्नुपर्ने बाध्यता निम्तिएको छ । एमाले नेता तथा पूर्वमन्त्री मोतिलाल दुगडको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ धुलो र कर्कश ध्वनिका कारण स्थानीय आजित बनेका छन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनिप्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कसैले ध्यान नदिँदा सिमेन्ट उद्योगआसपासका वासिन्दालाई घरबास नै छोडेर बसाइँ सर्नुपर्ने बाध्यता भएको पीडितहरू बताउँछन् ।

केहि वर्षअघिबाट सञ्चालनमा आएको उक्त उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नका लागि स्थानीयले पटक-पटक विरोध, सुझाव र ज्ञापनपत्र बुझाउँदै आए पनि उद्योग सञ्चालक र उद्योगमा कार्यरत कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दा उक्त समस्या निम्तिएको स्थानीय वासिन्दा बताउँछन् । उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानवबस्तीमा आउने र त्योसँगै उद्योग सञ्चालन गर्दा ठुलो स्वरमा ध्वनीप्रदुषण हुने समस्या आएपछि धुनिबेसी नगरपालिका-९ जुगेडीवासीले हैरानी खेप्न बाध्य हुन परेको हो । धुनिबेसी नगरपालिका-९ जुगेडी घर भएकी रमा राईले उद्योगबाट निस्कने प्रदुषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर गरेको जिकिर गरिन् । उद्योग सञ्चालनमा आएपछि उद्योगआसपासका मात्र नभएर उद्योगदेखि केही टाढाका मानवबस्तीमा समेत त्यसको असर परेको उनको भनाइ छ ।

उद्योग सञ्चालनमा आएपछि शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भइरहने, धेरै रिस उठ्ने जस्ता समस्या देखिएको उनी बताउँछिन् । ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनि फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरि सिमेन्टको धुलो जमेको हुन्छ, हाम्रो ठाउँ कृषिमा आश्रित क्षेत्र हो, फलफुल फल्ने ठाउँ पनि हो, त्यही फलफुल र तरकारी बिक्री गरेर हामी पालिन्थ्यौँ । तर अहिले त फलफुल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागतीलगायतका फलफुलहरू फल लाग्दैगर्दा झरेर जान्छन्, केहि पनि फल्दैन’- उनको दुःखेसो छ ।

अहिले उनीहरूले समुहगत रूपमै दबाब दिने अभियानसमेत चलाएका छन् । स्थानीय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाइ उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्र समेत पेश गरिएको छ ।

जुगेडी खाद्य अधिकार प्रभावित समूहका सह-संयोजक रामकृष्ण राईले उद्योग २४सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनी र धुँवा निकाल्ने हुँदा आफुहरूलाई निदाउनै मुस्किल भएको बताए । ‘हामीले उद्योगलाई बारम्बार ध्वनी र धुवाँ-धुलो नियन्त्रण गर्न भनेका छौँ, तर उद्योगका कर्मचारीहरूले त्यसको बेवास्ता गर्दै आएका छन्’, उनले भने- ‘सिमेन्ट उद्योगबाट निस्कने धुँवा र धुलो बढेको हुँदा बाँच्नै मुस्किल परेको छ । मानव स्वास्थ्यका साथै कृषिबालीमा पनि उस्तै असर परेको छ ।’

उता युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दाबी गरेको छ । रातिमा उद्योग सञ्चालन गर्दा अलिक बढी ध्वनी आउने गरेको उद्योगका प्रतिनिधि अशोक आचार्यले स्वीकार गरे । यद्यपि औपचारिक रुपमा भने आफूले बोल्न नमिल्ने आचार्यको भनाइ छ । अनौपचारिक रूपमा कुरा गर्दा भने उनले उद्योगको बचाउ गर्दै रातिमा उद्योग सञ्चालन गर्दा अलिक बढी ध्वनी आउनु स्वभाविक नै रहेको बताए । ‘उद्योगमा विद्युत जाने र आउने हुँदा उद्योगको अन्डरग्राउण्डमा जम्मा भएको धुलो र मेसिनबाट आउने धुवाँ एकैसाथ बाहिर निस्कने गरेको हो । त्यो धेरैबेर रहँदैन र त्यसले खासै असर गरेजस्तो लाग्दैन’- उनको तर्क छ ।

उद्योग स्थापनाको समयमा स्थानीयसँग उद्योगका प्रतिनिधिहरूले स्थानीयलाई रोजगारी दिने, स्थानीयले प्रयोग गर्दै आएको मोटरबाटोलाई पिच गरी उद्योगले समेत प्रयोग गर्ने, स्थानीयलाई कुनै किसिमको असर गर्न नदिने लगायतको सम्झौता गरेपनि अहिले उद्योगले उक्त सम्झौतालाई कार्यान्वयन गरेको छैन ।