विवादास्पद इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दा प्रहरी धरपकड

विवादास्पद इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दा प्रहरी धरपकड


विवादास्पद एवम् राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएको एकीकृत शक्ति नेपालका नेता-कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट खारेजीको मागप्रति ध्यानाकर्षण गराउन सो पार्टीले आज (१० असार) बिहान १० बजे १० मिनेटको लागि सवारी साधनको स्टार्ट बन्द गरेर सरकारलाई दबाब दिने कार्यक्रम आयोजना गरेको थियो ।

सो क्रममा काठमाडौंको भद्रकालीबाट एकीकृत शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीका साथ नेताहरू जुलुमरत्न डङ्गोल, सुवास पाण्डे, वासुदेवचन्द्र मल्ल, झङ्क रिजाल, दीपकसिंह महर्जनलगायतलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ ।

ज्ञातव्य छ, नेपाली गाडी (सवारी साधन)मा इम्बोस्ड नम्बर प्लेट जडान गराउने नेपाल सरकारको बाध्यकारी निर्णयप्रति एकीकृत शक्ति नेपालले गम्भीर आपत्ति तथा असहमतिका साथ सो निर्णय खारेज गर्नुपर्ने माग गर्दै आएको छ ।

इम्बोस्ड नम्बरमा देवनागरि लिपि प्रयोग गरिनुपर्ने, आफ्नै प्रविधिको विकास गरी इम्बोस्ड नम्बरको अनुगमन र नियन्त्रण नेपाल सरकारको निहित रहनुपर्ने, हाल निर्धारित जडान शुल्कमा ९० प्रतिशत छुट गरिनुपर्ने लगायतका माग पनि सो पार्टीले अघिसारेको छ ।

भ्रष्टाचार गरी अथाह सम्पत्ति आर्जन गर्ने र नेपाली भाषालाई सङ्कुचित तुल्याउँदै लैजाने राष्ट्रविरोधि नियतबाट भएको उक्त निर्णय खारेज नगरेसम्म विविध स्वरुपको विरोध तथा आन्दोलन जारी रहने सो पार्टीले जनाएको छ ।