- मोहन लामा रुम्बा
एकपटक स्वामी विवेकानन्दजीसँग कसैले प्रश्न गरेर सोधेछ- ‘हिन्दुमा बालविवाह हुने गर्छ, यो त गलत हो, हिन्दुधर्ममा सुधार हुन आवश्यक छ कि छैन ?’
स्वामीजीले प्रतिप्रश्न गर्दै तिनैलाई सोधे- ‘के हिन्दु धर्मले कहिल्यै प्रत्येक व्यक्तिको विवाह हुनुपर्छ र त्यो विवाह त्यही व्यक्तिसँग हुनुपर्छ भनेर यस्तो भनेको छ र ?’
प्रश्न गर्ने मान्छे अलिकति हच्किँदै भन्न थाल्यो- ‘हिन्दुमा बालविवाह हुँदैन त ?’
‘स्वामीजी सबैभन्दा पहिला मलाई यो भन्नु कि विवाहको प्रचलन हिन्दू समाजमा हो कि अथवा हिन्दुधर्ममा ?’
‘हिन्दु धर्मभित्र त ब्रह्मचर्यमा जोड दिन्छन्, २५ वर्षको उमेरभन्दा अगाडि गृहस्थ आश्रममा प्रवेश गर्न अनुमति कुनै स्मृतिले दिँदैन र स्मृति पनि समाजशास्त्र नै हो, यो समाजको विधान हो ।’
स्वामीजी फेरि थोरै विराम लिएर बोले- ‘धर्मले त विवाहको कुरा नै गर्दैन, धर्म भनेको पत्नीप्राप्तिको लागि होइन, यसले त ईश्वरप्राप्तिको कुरा गर्छ ।
फेरि प्रश्न गऱ्यो- ‘स्वामीजी, सुधार हुनुपर्ने त जरुरी छ नि होइन र ?’
स्वामी जी : अब तपाईं नै निर्णय गर्नुस् कि सुधार कसको हुनुपर्ने जरुरी छ, समाजको कि हिन्दूधर्मको ?
हामीलाई धर्म-सुधारको होइन समाज सुधारको जरुरी परेको छ र यही अपराध हामीले अहिलेसम्म गर्दै आइरहेका छौँ ! हामीलाई समाजसुधारको आवश्यकता थियो तर गर्न लाग्यो धर्ममा सुधार !
स्वामीजी अगाडि बोल्दै गए- ‘धर्म सुधारको नाउँमा हिन्दुको सुधार त भएन किन्तु यो सत्य हो कि हिन्दुको विभाजन अवश्य भयो । तिनीहरूमा हीन भावना अधिक रूपमा जमेर बस्न गयो । धर्मसुधारको नाउँमा नयाँ-नयाँ सम्प्रदाय बन्दै जान थाल्यो यी सबै हिन्दू समाजको दोषलाई हिन्दूधर्मसँग जोड्दै गए साथसाथै नयाँ-नयाँ सम्प्रदाय बन्दै गए बनेका सम्प्रदाय एक अर्कोसँग टाढिँदै गए ।
हिन्दु धर्मको खिल्ली उडाएर यिनीहरू शासक (इस्ट इन्डिया कम्पनी सरकार) को कृपा पाउन चाहन्छन् ! र, त्यसको लागि हिन्दूधर्मको आलोचना गर्नु सबैभन्दा सरल तरिका हो ।
आज हेर्नुस्, जति सम्प्रदाय छन् ती सबै हिन्दुसँग भन्दा ईसाइसँग अधिक निकट भएर बसेका छन् । यिनीहरू हिन्दू समाजको दोषलाई हिन्दू धर्मसँग जोडेर हिन्दूको दोष अनि ईसाइको गुणगान गाएर बस्छन् ।
स्वामीजीले आजभन्दा झण्डै एक सय वर्षअगाडि गरेको पिडादायी अनुभव आज पनि जस्ताको तस्तै छ ।
अझै त्यतिबेला त आफ्नो धर्म संस्कृति सभ्यताको खिल्ली उडाएर प्रत्यक्ष रूपमा अंग्रेज शासकबाट मान-सम्मान थाप्न पाउँथे तर अहिले त हामीकहाँ प्रत्यक्ष कुइरेहरूको सरकार पनि छैन, तर तिनका दासहरूको सरकारको गुणगान गाएर आफ्नो धर्म परम्परालाई छुरा हानेर जिवीकापार्जन गर्नेहरूको भिड लागेका छन् !
सुधार गर्नुपर्ने समाज हो धर्म होइन, उदाहरणका लागि मैले देख्दा बाल्यकालतिर हाम्रो गाउँघरमा कोही मर्दा तीन दिन ढ्याङ्ग्रो ठोकेर बस्थे, हप्ता दिनसम्म मर्नेको घरमा जाँडरक्सी खाएर बाटोमा लडिबडी गरिरहेको हुन्थ्यो, तर अहिले एक दिनमा च्वाट्ट हुन्छ, न जाँडरक्सी चल्छ न लडिबडी न होहल्ला ! यो समाज सुधार भएको हो धर्म त हिजो पनि त्यही ग्रन्थ पढ्थ्यो अहिले पनि त्यही पढ्दै घेवा गर्ने गर्छन् ।
हामीले बाल्यकालमा तिब्बतबाट आएका तिब्बतीहरू स्वयम्भू बौद्धतिर पाल टाँगेर बस्ने गरेका देख्थ्यौँ, एकजना तिब्बती मान्छे बाटोबाट हिँड्यो भने छेउमा पुग्नासाथ नाक थुन्नुपर्ने हुन्थ्यो अहिले तिनैका सन्तानहरू बौद्धतिर गएर हेर्नुभयो भने हामीलाई नै सुसंस्कृत सभ्यताको उपदेश दिइरहेका पाउँछौँ, तिब्बतीको धर्म हिजो पनि त्यही थियो आज पनि त्यही छ ।
आजको समस्या सामाजिक चेतनाको हो धर्मको होइन अमेरिका क्यानाडा नर्वे फ्रान्समा इसाई धर्म मान्ने देश हो त्यही इसाई धर्म मान्ने दक्षिण अफ्रिकामा फेरि किन पछ्यौटे संस्कृति ? समस्या धर्मको हो कि समाजको ?
श्रीलंका बर्मामा पनि बौद्ध धर्म मान्ने समाज छन् ताइवान सिंगापुरमा पनि बौद्ध नै मान्ने समाज छन् फेरि एउटाको समाजिक चेतना कहाँ अर्को देशको कहाँ तुलना नै हुन नसक्ने यो अन्तर कसरी भयो ? धर्मले गरेको अन्तर हो र ?
कुरा धर्मको होइन कुरा समाजको हो, समाज चेतनाको विकास राज्यको नीतिसँग जोडिएको हुन्छ, जुन देशले आर्थिक भौतिक उन्नति गर्दै समृद्धितर्फ लैजाँदै गर्छ त्यति-त्यति त्यो देशको समाजमा सामाजिक चेतनाको विकास हुँदै जान्छ ।
सामाजिक अवस्था र मुलुकको राजनीतिक अवस्था अलग-अलग हुने कुरा होइन, यो राज्यसत्तासँग प्रत्यक्ष जोडिएको हुन्छ न कि कुनै समुदायको धर्मग्रन्थसँग !!
सामाजिक विसंगति, पछ्यौटे चेतनाको दोष हिन्दू धर्मलाई थोपर्ने काम नेपालमा हामीलाई अहिले नौलो लागेको मात्रै हो, यो त भारतमा अंग्रेजको युगदेखि चल्दै आइरहेको हो कुरा यति मात्रै हो कि हामीलाई राणाशासकले सुरक्षित गरेर राखेकोले त्यसको अनुभव गर्न पाएनौँ स्वामी विवेकानन्दले जसरी झेल्न परेन, त्यसपछि जेनतेन राजसंस्था रहुन्जेल जोगाएर ल्याएकोले प्रत्यक्ष रूपमा हुँडारहरूको पीडा अनुभव गर्न पाएन अब अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि खुल्लमखुल्ला पश्चिमी अङ्ग्रेजको बोलवाला बढ्दै गएपछि नेपालमा पनि आफ्नो धर्म-संस्कृति माथि जाइलाग्ने हुँडारहरूको यतिबेला बोलवाला बढेको मात्रै हो अन्यथा अरु केही होइन, कि कसो ?
प्रतिक्रिया