नेपाल चीनसँगको सम्बन्ध थप सुध्रने नवनियुक्त राजदुत श्रेष्ठको जिकिर

नेपाल चीनसँगको सम्बन्ध थप सुध्रने नवनियुक्त राजदुत श्रेष्ठको जिकिर


  • विकाश रौनियार, धादिङ

जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध थप सुमधुर एवम् विकसित बन्ने बताउनुभएको छ । चीनसँग नेपालको सम्बन्ध सदियौँदेखि मित्रतापूर्ण रहेको र आफूले त्यो मित्रतालाई अझै विश्वासयोग्य र विकसित मित्रताको रुपमा अगाडि बढाउने उहाँको धारणा छ ।

जिल्ला समन्वय समिति नीलकण्ठ नगरपालिका र धादिङका नागरिक संस्थाहरुले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रेष्ठले भन्नुभयो- ‘म शुरुवातको चरणमा छु, धेरै प्रतिवद्धता गर्दिनँ । मेरो पनि सीमा छन् । म एउटा प्रतिनिधि पात्र हो । मेरो देशको सरकारले मलाई कसरी गाइड गर्छ, त्यसमा पनि भर पर्छ । देश, सरकार, संविधानले तोकेको कानुनअनुसार मैले कुटनीतिक सम्बन्ध र व्यवहार अघि बढाएर नेपाल र चीनबीचको सम्बन्धमा थप सुधार ल्याउनेछु ।’

राजदूत विचारको बिक्री गर्ने व्यक्ति भन्दै उहाँले राष्ट्रको पहिलो सेल्सम्यानको रुपमा राजदूतलाई लिने गरिएको तर्क गर्नुभयो । अहिले हामीले चीनसँग विश्वास जित्नु छ भन्दै राजदूत श्रेष्ठले भन्नुभयो- ‘राज्यले मलाई ठूलो अवसर दिएको छ, अवसरसँगै चीनसँग विश्वास जित्न उस्तै चुनौतीहरु पनि छन् । चीनले नेपाललाई राम्रोसँग बुझेको छ कि नेपालको राजनीति कतातिर गैरहेको छ । नाका खुलाउने कुरा पनि महत्वपूर्ण छ । चीनले सामानहरु ल्याउन रोकावट गरेको छ, समुन्द्रबाट मात्र आउँछ । अध्ययनका लागि चीन पुगेका विद्यार्थीहरुले पनि समस्या भोगिरहेका छन् । यस्ता धेरै समस्याहरु छन् । त्यसैले यस्ता विषयलाई लिएर चीनसँग सम्बन्ध बिस्तारमा लाग्नेछु ।’

उहाँका अनुसार हामी हाम्रो संविधानले तोकेअनुसार हाम्रो परराष्ट्र नीति कायम रहेको छ, त्यो परराष्ट्र नीतिभन्दा बाहिर गएर चीनसँग काम गर्न सकिँदैन । ‘मैले मेरो देशको कानुनको सीमाभित्र रहेर काम गर्नुपर्छ । क्षेत्रफल र जनसंख्याको हिसावले नेपाल सानो होला तर हैसियत र राष्ट्रको हिसाबले चीन र नेपाल बराबर हो । अर्थतन्त्रमा चीन अगाडि होला, हामी कम विकसित छौँ तर हाम्रो स्वाभिमान हामीले बचाउनुपर्ने हुन्छ’, उहाँले प्रष्ट पार्नुभयो ।

धादिङ तिब्बतसँग जोडिएको जिल्ला हो । सिंगो नेपालको विकाससँगै यस जिल्लाको विकासमा तपाईंहरु जस्तै मेरो पनि भूमिका रहन्छ । आफ्नो गृहजिल्ला भएका कारण पनि धादिङ प्राथमिकतामा रहेको राजदूत श्रेष्ठको भनाइ छ । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन देशको कानुन पनि अनुकुल बनाएर लैजानुपर्ने हुन सक्छ । मित्रराष्ट्रले हामीलाई माया गर्ने तर हामीले त्यो मायालाई सँगालेर राख्न नसक्ने अवस्थामा भएकोले आफू पनि सक्षम हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।

चीन विश्वअर्थतन्त्रको उदयमान राष्ट्र भन्दै चीनले यही गतिमा आर्थिक विकास गर्दै जाने हो भने ८/१० वर्षमा अमेरिका भन्दा पनि पहिलो तहमा पुग्न सक्ने उहाँले उल्लेख गर्नुभयो । नेपाल र चीनको सम्बन्ध राम्रो बनाउन सके नेपाललाई राम्रै फाइदा हुने राजदूत श्रेष्ठको जिकिर छ ।