दोश्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा रेन्बो एकेडेमी पोखराका गोकुल श्रेष्ठलाई

दोश्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा रेन्बो एकेडेमी पोखराका गोकुल श्रेष्ठलाई


दोश्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान तथा खोज कार्यक्रम २०२२ संचालन गरिएको छ । विद्यालयस्तरीय परियोजना निर्माणमार्फत विज्ञान, प्रतिभा पहिचान गर्ने र पहिचान गरिएका प्रतिभालाई राष्ट्रिय सम्मानका साथ हाइलाइट गराउने उद्देश्यका साथ कार्यक्रम सचालन गरिएको हो ।

कृषि विकास बैंक केन्द्रीय प्रशिक्षण प्रतिस्ठान बोडे भक्तपुरमा सम्पन्न केन्द्रीय प्रतिस्पर्धामा रेन्बो एकेडेमी पोखराका गोकुल श्रेष्ठ प्रथम, रत्नराज्य मावि काठमाडौंका पारस रे द्वितीय, कसिनी मावि मोरङका प्रविन बिक तृतीय, जनज्योति मावि रौतहटका रोचक कार्की चतुर्थ र क्रिसेन्ट सिटी स्कुल कैलालीका रोशिका मल्ल सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।

कार्यक्रमको ढाँंचा अनुसार केन्द्रीय प्रतिस्पर्थावाट छनौट भएका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना परियोजनाहरुलाई नगद रु दस हजार, आठ हजार, सात हजार, ६ हजार र चार हजारसहित प्रमाणपत्र, मेडलद्वारा सम्मान गरिएको छ । साथै र राष्ट्रिय रुपमा प्रवर्धन गरिने जनाइएको छ ।

विज्ञान शिक्षक समाज नेपाल केन्द्रीय सचिवालयले युनेस्को नेपाल सचिवालयसँंग एक सम्झौतामार्फत यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमको एउटा पक्ष युनेस्को नेपाल सचिवालय हो भने अर्को पक्ष विज्ञान शिक्षक समाज नेपाल केन्द्रिय सचिवालय रहेको छ ।

युनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्राज्ञ रमेश मास्के, प्राज्ञ दिनेशराज भुजु, नास्ट प्रविधि विभाग प्रमुख रविन्द्र, प्रा.डा. रामेश्वर अधिकारीलगायत बैज्ञानिक समुदायको उपस्थितिमा कार्यक्रम भएको थियो । आयोजक विज्ञान शिक्षक समाजका अध्यक्ष खिलकुमार प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सचिव मनोज आचार्यले सञ्चालन गरेका थिए भने प्रवक्ता डम्वरुप्रसाद पोखरेलले कार्यक्रमबारे जानकारी गराएका थिए । प्रतिस्पर्धात्मक बिज्ञान परियोजनाहरुको पाँंच सय भन्दा बढी विद्यार्थीले अवलोकन गरेको जनाइएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयलाई आर्थिक वर्ष २०७८/०७९ भित्रमा सम्पादन गर्ने गरी विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रतिभा खोजी कार्यक्रम विज्ञान शिक्षक समाज नेपालमार्फत सञ्चालन गर्ने गरी उक्त कार्यक्रमलाई बढी भन्दा बढी प्रतिस्पर्धी, पारदर्शी, विश्वशनीय, जवाफदेही, प्रभावकारी, उपलब्धिमूलक र लाभग्राही बनाउनको लागि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय र विज्ञान शिक्षक समाज, नेपालबीचमा एक सम्झौता गरिएको थियो । यही सम्झौता अनुसार कार्यक्रम भएको हो ।

सअघि कार्यक्रमको प्रथम चरण अन्तर्गत असार ६ गते प्रदेश १ र बाकी सबै प्रदेशमा असार ४ गते प्रादेशिक छनौट प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामार्फत प्रत्येक प्रदेशबाट दुई/दुई वटा परियोजना केन्द्रीय प्रतिस्पर्थामा छनौट भए अनुसार नेपालभरिबाट १४ वटा प्रोजेक्टहरुबीच केन्द्रीय प्रतिस्पर्धा आयोजना गरिएको थियो । यस अर्थमा केन्द्रीय प्रतिस्पर्धामा नेपालका सबै प्रदेशबाट प्रतिनिधि १४ जना प्रतिस्पर्धी विद्यार्थी र १४ जना विज्ञान शिक्षक सहभागी गराइएको थियो । प्रादेशिक छनौट प्रतियोगिता विज्ञान प्रदर्शनी मेलामार्फत संचालन गरिएको हुदा सबै प्रदेशमा गरी १० हजार भन्दा बढी बिद्यार्थी लाभग्राही भएको जनाइएको छ । केन्द्रीय प्रतिस्पर्धामा सहभागी सबै विद्यार्थी नेपालका उत्कृट युवा वैज्ञानिक प्रतिभा रहेको जनाइएको छ । नेपालका संम्पूर्ण वैज्ञानिक समुदायले यसलाई ग्रहण गरी प्रवर्धन गर्न विज्ञान शिक्षक समाज नेपालले सवैलाई धन्यावद ज्ञापन पनि गरेको छ ।

विद्यालयस्तरीय बिज्ञान शिक्षा उन्नयन गर्न सक्रिय विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सघसंस्था एजेन्सी तथा सरकारी अंगसँग सहकार्य गर्ने नीति अनुसार साइन्स एजुकेशन फ्रम क्यापियन, इक्सपरिमेन्ट, एक्सिपरेन्स एण्ड इनोभेसन भन्ने मुख्य अभियानका साथ समाज २०६६ सालमा स्थापना गरिएको जनाइएको छ । विज्ञान शिक्षक समाज नेपाल नेपालका करिव ४९ हजार भन्दा बढी विद्यालय विज्ञान शिक्षकहरुको एक मात्र छाता संस्था हो । यसको प्रमुख उद्देश्य विद्यालय विज्ञान शिक्षा उन्नयन गर्नु रहेको जनाइएको छ । यस संस्थाले प्रमुख रुपमा वैद्यालय विज्ञान शिक्षक र विद्यार्थीकेन्द्रित तालिम, गोष्ठी, सेमिनार, छलफल, ओलम्पियाड, प्रदर्शनी, चित्रकला, हाजिरीजवाफ जस्ता कार्यक्रमहरुमार्फत नेपालका विद्यालयमा विज्ञान अध्ययन गर्ने लाखौ विद्यार्थी लक्षित बैज्ञानिक शिप विकास, सस्कार विकास तथा अनुसन्धान सस्कार निर्माणमा कार्य गर्दै आएको जनाइएको छ । यसैको एक कडीको रुपमा यो कार्यक्रम भएको जनाइएको छ ।