नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो

नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो


साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घटेको छ ।

घट्दो क्रममा रहेको नेप्से परिसूचक २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर ४९ हजार ४१६ पटकमा रू. २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ मा खरीद बिक्री भएको छ । गत सोमबार पनि नेप्से परिसूचक ९ दशमलव ७५ अंक घटेको थियो ।

कारोबारमा आएका २२९ ओटा धितोपत्र मध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६० प्रतिशत घटेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २११ मा झरेको हो । त्यसैगरी दोस्रोमा दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ दशलमव ९२ प्रतिशत घटेर रू. २०५ कायम भएको छ ।

यो दिन सर्वाधिक खरीदबिक्री सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । कम्पनीको रू. ३० करोड २० लाख बराबरको शेयर खरीद बिक्री भएको हो । कम्पनीको प्रमोटर शेयरको मूल्य प्रतिकित्ता रू. १५१ कायम भएको छ ।

त्यसैगरी, सर्वाधिक शेयर खरीदबिक्री हुने दोस्रोमा अरुण काबेली पावर रहेको छ । उक्त कम्पनीको रू. ११ करोड ८२ लाख बराबरको शेयर खरीद बिक्री भएको छ ।

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । १३ ओटा समूहमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशलमव ८८ प्रतिशतले घटेको छ । यो दिन कुल बजार पूँजीकरण रू. २८ खर्ब ९६ अर्ब कायम भएको छ ।