दशौँ पटक पार्टी फेर्दै बाबुराम, जसपाको विभाजन निश्चित

दशौँ पटक पार्टी फेर्दै बाबुराम, जसपाको विभाजन निश्चित


नेपाली राजनीतिमा बाबुराम र प्रचण्ड सर्वाधिक अस्थिर व्यक्तिका रूपमा चिनिएका छन् । उनीहरू जहाँ पुग्छन् त्यहाँ विध्वङ्शको बिउ रोपिने र अन्ततः विभाजन हुने स्थिति पटक-पटक देखिँदै आएको छ । प्रचण्ड भन्दा पनि बाबुराममा वैचारिक एवम् राजनीतिक अस्थिरता ज्यादा देखिएको छ ।

पछिल्लो समय जनता समाजवादी पार्टीका माध्यमबाट राजनीतिमा सक्रिय रहँदै आएका डा. बाबुराम भट्टराई अन्ततः उक्त पार्टीबाट पनि बाहिरिने निश्कर्षमा पुगेका छन् । उपेन्द्र यादवले बाबुरामलाई उपेक्षा गर्दै अघि बढ्न थालेपछि उनी पुनः पार्टी बदल्ने निर्णयमा पुगेका हुन् ।

यही असार २८ गते केन्द्रीय कमिटिको समानान्तर बैठक राखेर भट्टराईले अलग पार्टी निर्माणको आधार खडा गर्न खोजेका छन् । पार्टी केन्द्रीय समिति र संसदीय दलमा चालिस प्रतिशत सदस्य सङ्ख्या पु¥याएर नयाँ दल दर्ता गर्ने र त्यसरी खोलिएको नयाँ दलले एमालेसँग चुनावी गठबन्धनको प्रयास गर्ने सङ्केतहरू देखिएका छन् । कुल १० सांसद रहेको जसपाका पचास प्रतिशत सांसद उपेन्द्रविरुद्ध मोर्चावद्ध रहेको र, उनीहरू तत्कालका लागि भट्टराईकै पक्षमा उभिने अवस्था रहेको छ । भट्टराईसँगै नेताहरू राजकिशोर यादव र महेन्द्रराय यादव पनि उपेन्द्रविरुद्धको मोर्चाबन्दीमा खडा भएका छन् । राजकिशोर र महेन्द्रसमेत उपेन्द्रविरुद्ध खडा भएकोले नयाँ पार्टी गठन हुने स्थिति बनेको हो ।

जीवनको सबैभन्दा लामो समय नेकपा एमाले र तिनका नेताहरूको आलोचनामा खर्चिएका बाबुराम विगतमा केपीविरुद्ध सर्वाधिक आक्रामक देखिन्थे, निष्ठूरी राजनीतिले भट्टराईलाई तिनै ओलीको शरणमा जानुपर्ने अवस्थामा पु¥याइदिएको छ । विद्यार्थी जीवनको प्रारम्भिक चरणमा नेविसङ्घ (काङ्ग्रेस) निकट रहेका भट्टराई ऋषिकेश शाह (स्व.) को विशेष तत्परतामा छात्रवृत्ति पाएर भारत पढ्न गएपछि त्यसबेला सर्वाधिक क्रान्तिकारी र शक्तिशाली मानिएको नेकपा चौथो महाधिवेशनसँग जोडिए । बाबुराम जोडिएको तीन वर्ष पुग्दानपुग्दै नेकपा (चौम) विभाजित भयो । नेकपा चौमको नेतृत्व निर्मल लामाले र विभाजनपछि बनेको नेकपा मशालको नेतृत्व मोहनविक्रम सिंहले लिएका थिए, बाबुराम सिंहतिर लागे । दुई वर्षपछि नेकपा मशाल विभाजन भयो, केही समय मोहनविक्रमसँगै रहेर बाबुराम विभाजित मशालको मोहन वैद्य खेमातिर जोडिन पुगे । मोहन वैद्यले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेपछि बाबुराम प्रचण्डतिर लागे । तर प्रचण्डसँग पनि उनको हार्दिकतापूर्ण सम्बन्ध बन्न सकेन ।

२०५२ मा शुरु भएको हिंसात्मक युद्धकालमा बाबुराम कारबाहीमा परे, उनलाई एकप्रकारले नजरबन्दमा राखिएको थियो । माओवादी हिंसात्मक सङ्घर्षको बलमा देशको प्रधानमन्त्री बन्ने सफलता पाएका बाबुरामले पदमुक्त भएको केही समयपछि ‘कम्युनिष्ट आन्दोलनको औचित्य नरहेको’ सार्वजनिक घोषणा गर्दै गैह्रमार्क्सवादी विचारको नयाँ शक्ति नामक दल दर्ता गराए र, एक भब्य समारोहकाबीच घोषणा गरे । उक्त दललाई क्रियाशील गराउन खोज्दाखोज्दै २०७४ सालमा नेकपा एमाले र माओवादीबीच एकता हुने सूचना पाएपछि बाबुराम राष्ट्रिय सभागृहमा अचानक प्रकट भएर ‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध तुल्याउनु आफ्नो धेरै पुरानो सपना भएको’ घोषणा गरे । तर त्यसरी कम्युनिष्ट आन्दोलनमा फर्कन उनले गरेको प्रयास निरर्थक रह्यो ।

केपी ओलीले उनलाई स्पेस दिनुपर्ने स्थिति थिएन, प्रचण्ड पनि उनलाई ठाउँ दिन तयार भएनन् । त्यसपछि ‘काङ्ग्रेसबिना मुलुकको समृद्धि सम्भव नभएको’ घोषणा गर्दै बाबुराम शेरबहादुरको शरण परे । देउवाले गोरखाको २ नं. निर्वाचन क्षेत्रबाट बाबुरामलाई जिताइदिएपछि उनी मधेशकेन्द्रीत पार्टीमा समाहित हुन पुगे । जसपा नामक उक्त दलमा प्रवेश भएको दुई वर्ष पुग्दानपुग्दै बाबुराम पुनः नयाँ गुँड बनाउने स्थितिमा आइपुगेका छन् । नेपाली राजनीतिमा बाबुराम र प्रचण्ड सर्वाधिक अस्थिर व्यक्तिका रूपमा चिनिएका छन् । उनीहरू जहाँ पुग्छन् त्यहाँ विध्वङ्शको बिउ रोपिने र अन्ततः विभाजन हुने स्थिति पटक-पटक देखिँदै आएको छ । प्रचण्ड भन्दा पनि बाबुराममा वैचारिक एवम् राजनीतिक अस्थिरता ज्यादा देखिएको छ ।