दुई घटकभित्र उत्पन्न तनावले शेरबहादुरलाई सकस

दुई घटकभित्र उत्पन्न तनावले शेरबहादुरलाई सकस


काङ्ग्रेसभित्र उत्पन्न असन्तुष्टिलाई समयमै सम्बोधन गर्न देउवा असफल भए भने दुई पटक काङ्ग्रेस विभाजन गराएको कलङ्क देउवामाथि लाग्ने निश्चित छ ।

सत्तारुढ दलहरू नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीभित्र उत्पन्न अन्तरसङ्घर्षले सत्ता गठबन्धनलाई सङ्कटग्रस्त तुल्याउने सम्भावना देखापरेको छ । माधवकुमार नेपाल नेतृत्वको समूहभित्र उत्पन्न विवादले गठबन्धनको स्थायित्वमाथि आशङ्का पैदा गरिरहेका बेला काङ्ग्रेस र जसपाभित्रको अन्तरसङ्घर्षले नयाँ समस्या थपेको छ ।

जसपामा उपेन्द्र यादवले महेन्द्र यादव, राजकिशोर यादव र बाबुराम भट्टराईलगायतका नेताहरूसँग सामान्य परामर्शसमेत नगरिकन मन्त्रीका नाम सिफारिश गरेपछि उक्त पार्टीभित्र विवाद चर्किएको छ । बहुसङ्ख्यक सांसद मिलेर बेग्लै दल खडा गर्ने स्थितिमा उपेन्द्र यादवविरोधी जसपा नेताहरू पुगेका छन् । कदाचित्त जसपा विभाजित भयो भने असन्तुष्ट पक्षले नेकपा एमालेसँग सहकार्य गर्ने निश्चितप्रायः छ ।

त्यसैगरी, नेपाली काङ्ग्रेसको राष्ट्रवादी एवम् प्रजातन्त्रवादी धार पनि अब देउवाका विरुद्ध सङ्गठित प्रतिरोधमा उत्रिएको छ । माओवादीसँग चुनावी गठबन्धन गर्न नहुने ठहर काङ्ग्रेसको शेखर कोइराला पक्षले गरेको छ । काङ्ग्रेस एक्लै चुनावी मैदानमा उत्रिनुपर्छ भन्दै कोइराला पक्षले देउवाविरुद्ध सङ्गठित प्रतिरोध गर्ने तयारी गरेको छ । देउवा अटेर गरेर अघि बढे कम्युनिष्टसँग हुने चुनावी गठबन्धनलाई अस्वीकार र अवज्ञा गर्दै कोइराला पक्षले सबै (१६५) निर्वाचन क्षेत्रमा काङ्ग्रेसको उम्मेदवार बनाउन कुनै पनि विकल्प रोज्नसक्ने अवस्था छ ।

स्मरणीय छ, कम्युनिष्टहरूसँग गठबन्धन गर्दा काङ्ग्रेसले बढीमा पचासी निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्न ‘भाग पाउने’ देखिन्छ । बाँकी असी या सोभन्दा बढी निर्वाचन क्षेत्रमा गैह्रकाङ्ग्रेसी उम्मेदवारलाई काङ्ग्रेस मतदाताहरूले मतदान गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा शेखर कोइराला पक्षले एमालेसँग मिलेर या नमिलिकन असी स्थानमै उम्मेदवारी दियो भने देउवा-माओवादी गठबन्धनको औचित्य नरहने स्पष्ट छ । काङ्ग्रेसभित्र उत्पन्न असन्तुष्टिलाई समयमै सम्बोधन गर्न देउवा असफल भए भने दुई पटक काङ्ग्रेस विभाजन गराएको कलङ्क देउवामाथि लाग्ने निश्चित छ ।