राष्ट्रिय राजनीतिक दलहरू आगामी संसदीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने गृहकार्यमा जुटेका छन् । यस क्रममा एकतिर वामपन्थी कम्युनिष्टहरूबीच मोर्चाबन्दी र सहकार्यको जोडदार प्रयास भइरहेको छ भने अर्कोतिर प्रधानमन्त्री शेरबहादुर र उनको कित्ताचाहिँ एमालेविरुद्धको गठबन्धन मजबूत तुल्याउँदै आगामी संसदीय निर्वाचन परिणाम आफ्नो अनुकुल तुल्याउने रणनीतिक चालबाजीमा छ ।
स्थानीय निर्वाचनमा गरिएको गठबन्धनबाट आफूहरू लाभान्वित भएको ठहर काङ्ग्रेस र माओवादी नेतृत्वले गरेको भए पनि मधेशकेन्द्रीत समूहले कुनै ठोस लाभ नभएको ठानेको छ । उता माधव नेपाल समूहचाहिँ आफ्नो क्षतिमा दुःखी बन्नुभन्दा नेकपा एमालेको पराजयमा रमाएको अवस्था छ । वामपन्थी कम्युनिष्टहरूबीच गठबन्धन पुनस्र्थापित गराउन वामदेव गौतमले बाहिरी सक्रियता देखाएको भए पनि नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरू वाम एकताका निम्ति भित्रभित्रै सक्रिय भइरहेका छन् । वामपन्थी गठबन्धन भनेकै केपी शर्मा ओली र प्रचण्डबीचको सहकार्य भन्ने बुझाइ सम्वद्ध पक्षको छ । तर दुई शीर्ष नेताबीच समझदारी बनाउने कार्य नै तत्कालका लागि सर्वाधिक कठिनाइको विषय भएको छ ।
वामपन्थी गठबन्धन बनाएर चुनावमा उत्रिए पनि परिणाम आइसकेपछि प्रचण्ड काङ्ग्रेससँग मिलेर सरकार गठन गर्न अग्रसर हुने बुझाइ एमाले नेतृत्वको छ । विश्वासको यस्तो सङ्कटका कारण अहिलेसम्म वामपन्थी गठबन्धन बन्न नसकेको हो ।
एमालेका एकथरी ‘चतुर नेता’ केपीलाई अध्यक्ष पदबाट हटाएर भए पनि एकताको वातावरण बनाउनुपर्छ भन्न प्रचण्डकहाँ पुगेका छन्, तर केपीले पार्टीको नेतृत्व परित्याग गर्ने कुनै कारण र अवस्था नरहेकोले एमालेकै कुनै नेताबाट ‘त्यस्तो’ विचार प्रकट भएको भए पनि ओलीले अध्यक्ष पद छोड्ने सम्भावना शुन्यबराबर छ । उता एमालेको नेतृत्वचाहिँ प्रचण्डमाथि विश्वास गर्न सकिने कुनै आधार नभएको ठान्दछ । वामपन्थी गठबन्धन बनाएर चुनावमा उत्रिए पनि परिणाम आइसकेपछि प्रचण्ड काङ्ग्रेससँग मिलेर सरकार गठन गर्न अग्रसर हुने बुझाइ एमाले नेतृत्वको छ । विश्वासको यस्तो सङ्कटका कारण अहिलेसम्म वामपन्थी गठबन्धन बन्न नसकेको हो ।
तथापि, एकथरी नेताहरू कुनै पनि हातलमा वामपन्थी कम्युनिष्टहरूबीच चुनावी एकता गराइछाड्ने अठोटका साथ क्रियाशील भइरहेका छन् । केपी र प्रचण्डबीच विश्वासका न्यूनतम आधार निर्माण गर्न सकेको अवस्थामा वामपन्थी कम्युनिष्टहरूबीच एकताको सम्भावना छ । निर्वाचनको तिथि घोषणा भइसकेपछि पनि वाम गठबन्धनको प्रयास जारी रहने र दोस्रो तथा तेस्रो पुस्ताका नेताहरू आ-आफ्नो राजनीतिक भविष्यलाई लिएर ज्यादा चिन्तित भएकोले पनि कुनै न कुनै प्रकारले वाम गठबन्धन बन्न सक्ने सम्भावनालाई इन्कार गर्न नसकिने सङ्केतहरू देखिएका छन् । कदाचित वाम गठबन्धन बन्न सकेन भने त्यसको मूल कारण केपी ओली र प्रचण्डबीचको विश्वासको सङ्कट नै बन्ने देखिएको छ ।
प्रतिक्रिया