प्रदेशको नाम टुङ्गो लगाउन सर्वदलीय बैठकमा छलफल

प्रदेशको नाम टुङ्गो लगाउन सर्वदलीय बैठकमा छलफल


प्रदेश १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको नामकरण टुङ्गाउने विषयमा बैठक बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राईको उपस्थिति थियो ।

प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउने विषयमा दलहरूबीच प्रारम्भिक कुराकानी भएको र प्रारम्भिक चरणको बैठक भएकाले आ-आफ्नो दलका तर्फबाट धारणा राख्ने काम भएको बताइएको छ ।

प्रदेश नामकरणका विषयमा सबै दलले लचकता अपनाउने र साझा सहमति खोज्ने कुरा भएको मुख्यमन्त्री राईको भनाइ छ ।

दलहरूबाट प्रदेशको नामकरणका सवालमा अलग-अलग नाम आएकाले आगामी बैठकमा वैकल्पिक नामसहित उपस्थित हुने सहमति भएको र आ-आफ्नो पार्टीबाट अब थप म्याण्डेटका साथ उपस्थित हुने गरी अर्को बैठक बस्ने जनाइएको छ ।