सुरक्षित बस्ती स्थानान्तरणका लागि प्रकोपपीडितको गुहार !

सुरक्षित बस्ती स्थानान्तरणका लागि प्रकोपपीडितको गुहार !


धादिङको गजुरी गाउँपालिका-२ चामवास बाह्रविसेबासीको वर्षाैंदेखि बस्दै आएको थातथलो २०७५ सालको पहिरोले लग्यो । खानी तथा भूगर्भ विभागले पनि ‘बस्न योग्य छैन’ भन्यो । तर चार वर्ष बित्दा पनि ओत लाग्ने सुरक्षित छानो नपाएका उनीहरूले अझै सरोकारवाला निकायको ढोका ढक्ढकाइरहेका छन् ।

दुधे बालक काखीमा च्यापेर २६ वर्षीय पञ्चमाया तामाङको टोली केही दिनअघि जिल्ला प्रशासन कार्यालय धादिङ आइपुगे । उनीहरूले सुरक्षित बस्ती स्थानान्तरणको माग राख्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका छन् । चामवास बाह्रबिसेका २१ घरपरिवारको ९२ जना पहिरोबाट प्रभावित छन् । न बस्ने बास छ न त खाने गाँस । आफ्नो जग्गाबाट उब्जनी भएको अन्नपातले एक महिना खान पुग्दैन ।

एउटै विकल्प ज्याला मजदुरी गरेर जीवन धान्नु परेको पञ्चमायाले बताइन् । खान, लाउन, बिहानबेलुका घरमा हुँदा ज्यान जोगाउन उस्तै समस्या छ । न बाँच्ने ताल आयो न मर्ने काल आयो उनले दुःखेसो पोखिन् । गाउँपालिकाले मासिक रूपमा प्रतिपरिवार तीन हजार रकम दिँदै आएको छ । पालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरूले समेत बस्ती अवलोकन गरका थिए । तर अस्थायी प्रबन्ध बाहेक केही उपलब्धि भएन । कि बस्नयोग्य छ भन्नु प¥यो कि सुरक्षित ठाउँ देखाइदिन उनीहरूले आग्रह गरेका छन् ।

सुरक्षित स्थानमा आवास स्थानान्तरण, जीविकोपार्जन लागि वैकल्पिक व्यवस्था, महिलाहरूलाई सीपसहितको साना उद्यम सञ्चालनको माग राख्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपालले चामवास बाह्रविसेबासीलाई खाद्य अधिकार तथा सुरक्षित आवासका लागि क्षमता अभिवृद्धि गर्दै सहजिकरण गरिरहेकोे छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पटक-पटक अनुगमन भएको र प्रक्रिया अघि बढेको र गाउँपालिकालाई निर्देशन दिइसकेको बताउनुभयो ।

‘कार्यविधिअनुसार पालिकाले बस्ती पहिचान, नयाँ जग्गाको पहिचान तथा खरिद भएपछि निर्माण प्रक्रिया अघि बढ्छ उहाँले भन्नुभयो । पालिकाले कार्यविधिअनुसार प्रतिवेदन दिएपछि शुरु हुन्छ । ’ मैले मन्त्री, प्राविधिक, मन्त्रालयलगायत ठाउँमा छलफल गरिरहेको छु । यो काम तीन तहको सरकारलाई जिम्मेवारी दिइएको छ । व्यवहारिक र नितिगत समस्या भएका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।