नाचघरमा नौलो ढङ्गबाट ‘चोभार ब्लुज’को लोकार्पण

नाचघरमा नौलो ढङ्गबाट ‘चोभार ब्लुज’को लोकार्पण


इन्जिनियर विक्रमभक्त जोशीद्वारा सिर्जित पुस्तक कृति ‘चोभार ब्लुज’को लोकार्पण गरिएको छ । साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको ‘चोभर ब्लुज’ कथाहरूको सङ्ग्रह हो, जसमा नियात्रासँग गाँसिएका तथा निबन्धात्मक छनक दिने उन्नाइस वटा कथा सङ्ग्रहित छन् ।

पेशाले बैंकरसमेत रहेका सर्जक जोशी यतिबेला पेशागत कर्मबाट पन्छिएर समष्टिरूपले साहित्य साधनामा लागेका छन् । यसैको फलस्वरुप उनको पहिलो कृति ‘चोभार ब्लुज’को रूपमा साहित्यप्रेमीमाझ झुल्किएको छ ।

अत्यन्त रोचक एवम् नौलो किसिमबाट शनिबार राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो । पुस्तक विमोचन कार्यक्रमको आरम्भमा निर्देशक एवम् अभिनेता वीरेन्द्र हमालद्वारा निर्देशित लघुनाटक मञ्चन गरिएको थियो । चोभार ब्लुजभित्रकै कथाको नाट्य रुपान्तरण हमालले नै गरेका हुन् । नाटकमा हमालका १८ जना विद्यार्थीहरूले अभिनय गरेका थिए भने चार जनाले प्राविधिक पक्षबाट सहयोग गरेका थिए ।

पुस्तकबारे मन्तव्य दिँदै समारोका प्रमुख अतिथि वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीले जोशीका कथाहरूले विभिन्न यात्रा-सन्दर्भहरूलाई पृष्ठभूमि बनाएको उल्लेख गर्नुभयो । जोशीको साहित्यक प्रतिभा तथा साहित्यप्रतिको लगावको प्रशंसा गर्दै ठकुरीले भन्नुभयो, ‘विक्रम भाइ यात्राहरूमा निस्किरहनु हुन्थ्यो । उहाँ त यात्रामा कथा टिप्न पो जानुहुँदोरहेछ । त्यसैको उपज उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनुभयो ।’

यस्तै, पुस्तकका प्रकाशक तथा साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालाले समारोहका सभापतिको आसनबाट मन्तव्य दिँदै उज्जवल भविष्य बोकेका एक साहित्य-साधकको उदय ‘चोभार ब्लुज’मार्फत भएको बताउनुभयो ।

कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार एवम् समीक्षक महेश पौड्यालले जोशीका कथाहरूले कसैले नभनेका, देखेर पनि वास्ता नगरेका चोभारको कथा लेखेको जानकारी दिनुभयो । ‘चोभारको बाटो भएर म पनि धेरैपटक हिँडेको छु, तर फेरि हिँड्दा म पहिलेजस्तो हिँड्ने छैन चोभार ब्लुजका कथाहरूले अब मलाई मोड-मोडमा उभ्याउने छन्’- पौडेलको भनाइ थियो ।

त्यसैगरी वरिष्ठ पत्रकार एवम् समीक्षक राजकुमार बानियाँले जोशीका कथाहरू यसै पनि राम्रा छन् भन्दै यदि कसैले सामान्य नेवारी भाषा सिक्नुछ भने पनि यो पुस्तकबाट दोहोरो लाभ लिन सक्ने खुलासा गर्नुभयो ।

पुस्तक विमोचन समारोहमा लेखकका पिता प्रभुभक्त जोशीको समेत विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो भने समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल, भाषा सम्पादक रमेश दाहालको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यक्रममा माया ठकुरी, प्रभुभक्त जोशी, नाटक निर्देशक वीरेन्द्र हमाललाई लेखक र प्रकाशकका तर्फबाट दोसल्लाका साथमा सम्मानपत्र हस्तान्तरण गरिएको थियो भने अन्य अतिथिहरुका साथै नाटक मञ्चमा संलग्न १८ जना कलाकार र प्राविधिकहरूलाई स्मृतिचिन्ह वितरणसमेत गरिएको थियो । लेखककी सुपुत्री निशिता जोशीद्वारा स्वागत मन्तव्य दिइएको कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए ।

ज्ञातव्य छ, निकथा (निवन्धात्मक कथा) सङ्ग्रह ‘चोभार ब्लुज’ इन्जिनियर विक्रमभक्त जोशीको पहिलो कृति हो । बैंकरसमेत रहेका जोशी केही समययता व्यवसायिक कार्य छाडेर साहित्य साधनामा लागेका छन् । जोशीका कथाभित्र वाग्मती सभ्यताका कुराहरू छन् । वाग्मती सभ्यताको केन्द्रमा रहेको काठमाडौंको आञ्चलिकता छ । नेवारी जनजीवन, सभ्यताका अंश छन् र आधुनिकता पसेसँगै काठमाडौँले गुमाएका अर्गानिकीकरणको पीडा पनि यसमा व्यक्त गरिएका छन् ।