सिस्नेखोला किनारको नाङ्गो पाखामा वृक्षारोपण

सिस्नेखोला किनारको नाङ्गो पाखामा वृक्षारोपण


दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गामा वृक्षारोपण गरिएको छ । वर्षौदेखि पराम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामा आइतवार उपभोक्ताहरुले वृक्षारोपण गरेका हुन् ।

स्थानीय वसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको नदी किनारमा रहेको जग्गामा दुई सय बढी उपभोक्ताहरुले बिरुवा लगाएका हुन् । उक्त वृक्षरोणको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले ५ सय ४५ मिटर काँटेतारबार समेत गरिदिएको छ ।

करिव २० हेक्टर खाली वन क्षेत्रमा असना, हर्रो, बर्रो, अमला, सुगन्धकोकिला, बडहर प्रजातिका ३ हजार २ सय बिरुवा लगाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । वर्षौदेखि खेर गइरहेको र भूक्षयको जोखिमसमेत रहेको उक्त क्षेत्रमा संरक्षणमुखी बिरुवा रोपण गरी नमुनायोग्य बन बनाउने योजनाका साथ कार्यक्रम थालिएको कार्यालयले जनाएको छ ।

वसन्तापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन योगीको सभापतित्व एवम् डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मुनाल घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहायक वन अधिकृत भक्तबहादुर चौधरी, अनन्त डाँगी लगायतकाले वृक्षारोपणको महत्वबारे मन्तव्य दिए । कार्यक्रमको सहजिकरण सूचना अधिकारी खिमबहादुर केसीले गराएका थिए ।