सेनेटरी प्याडदेखि सेना प्रहरीको सामान सप्लाइ र इम्बोस्ड नम्बरदेखि सिक्योरिटी प्रेससम्मको व्यापारमा उल्लिखित नौ जनाको गिरोह सशक्त ढङ्गले लागेको पाइएको छ । यसरी बलियो गिरोह खडा गरेर राज्यश्रोतको दोहन गर्नमा आरजु राणा र उनको गिरोहले भ्रष्टाचारको इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ ।
प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा देशको कार्यकारी प्रमुख भएपनि शासन अरुले नै चलाउने गरेको पाइएको छ । सरकारको दैनिक कार्यमा देउवाको भूमिका ‘रबर स्ट्याम्प’को जस्तो मात्र भएको र, वास्तविक शासकको भूमिकामा कुल आधि दर्जन जति व्यक्तिहरू रहेको प्रधानमन्त्रीकै निकटवर्तीहरूले बताउन थालेका छन् ।
वास्तविक कार्यकारी भूमिकामा देउवापत्नी आरजु राणा रहेको र उनका खास पाँच सहयोगीमा जनार्दन शर्मा प्रभाकरको समेत नाम लिइन्छ । अर्थमन्त्रीको जिम्मवारीबाट तत्कालका लागि पन्छाइएको भए पनि जनार्दन शर्मालाई पुनः मन्त्रिमण्डलमा फर्काइन सक्ने सम्भावना प्रवल छ । गत वर्षदेखि मन्त्रीका रूपमा रहँदा जनार्दन शर्मा आरजु राणाको गुप्त टिममा प्रभावकारी सदस्यको भूमिका निर्वाह गर्दै थिए ।
सरकारको उच्च तहबाट हुने ठेक्कापट्टा राजनीतिक नियुक्ति, प्रहरी तथा कर्मचारीको सरुवा-बढुवा, ठूला उद्योग-व्यापारको अनुमति र आम्दानीसँग सम्बन्धित निर्णयहरूमा आरजुसहित ६ व्यक्ति हाबी हुँदै आएका थिए, छन् । विनाविभागीय मन्त्री बनाएर राखिएका उमेश श्रेष्ठ, योजना आयोगको उपाध्यक्षका रूपमा प्रस्तुत गरिएका विश्वनाथ पौडेल, पुत्र जयवीरसिंह देउवा, जनार्दन शर्मा र दीपक भट्ट राज्य सञ्चालनमा सर्वाधीक हाबी देखिँदै आएका छन् । जनार्दन शर्मालाई केही महिनाअघि नै अर्थमन्त्रालयको जिम्मेवारीबाट पन्छाउने इच्छा प्रचण्ड स्वयम्ले राखेका भए पनि आरजुका कारण उनलाई हटाउन नसकिएको बताइन्छ । जनार्दनलाई संरक्षण गर्न आरजु स्वयम् अग्रसर भएको बुझेपछि प्रचण्ड नराम्रोसँग झस्किएका थिए । राज्यसंयन्त्र र आफ्नो शक्तिको दुरुपयोग गर्दै आर्जन गर्ने कार्यले आरजु र जनार्दनलाई निकट पुऱ्याएको थियो ।
यस्तै, कुनै समय निजी विद्यालयको मामुली शिक्षकका रूपमा रहेका उमेश श्रेष्ठ केही वर्षयता अर्बपति ब्यापारीका रूपमा चिनिन्छन् । पहिले एमालेको निकटस्थ व्यक्तिका रुपमा रहेका श्रेष्ठ बिगत बाह्र वर्ष यता आरजुको निकटतम सहयोगी रहँदै आएका छन् । श्रेष्ठलाई मन्त्रीमण्डलमा प्रवेश हुन नदिन काङ्ग्रेसका कैयन नेताहरूले भरमग्दूर प्रयास गरेका भए पनि आरजुकै एकल प्रयासमा देउवाले उनलाई नियुक्ति दिलाएका थिए । गत वर्ष देउवा प्रधानमन्त्री भएको तीन महिनासम्म उन्नाइस मन्त्रालय मन्त्री बिहीन थिए । ती सबै मन्त्रालयको हरेक फाइल आरजु राणाले हेर्ने र उनको रायमा देउवाले सहमति जनाउँदै निर्णय दिने गरेका थिए । त्यस क्रममा राती अबेरसम्म बसेर फाइल अध्ययनमा सघाउने र आम्दानीका श्रोतहरूको पहिचान गर्ने काम यिनै उमेश श्रेष्ठले गर्दथे । त्यस्तै आरजु राणाद्वारा सञ्चालित ‘हाइब्रीड’ स्कुल युलिएन्सको व्यवस्थापकीय टीममा रहेर काम गर्दै आएका विश्वनाथ पौडेललाई आरजुले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइदिएको भए पनि आयोगको नियमित काममा भन्दा पौडेलको समय अतिरिक्त क्रियाकलापमा बित्दै आएको छ ।
चर्चित व्यापारी दीपक भट्ट पनि गत वर्षदेखि आरजुको निकट बनेका छन् । उच्च राजनीतिक तहमा ‘घनिष्ट’ सम्बन्ध बनाउन र उक्त सम्बन्धलाई नगदमा परिणत गर्न माहिर व्यापारीका रूपमा दीपकको परिचय बनेको छ । कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अति निकटका व्यक्ति भनेर चिनिने दीपकलाई त्यसअघि वामदेव गौतमका खास मान्छेका रूपमा लिइन्थ्यो । माओवादीका नेता जनार्दन शर्मासँग घनिष्टतम् सम्बन्धमा रहँदै आएका उनको निकटता प्रचण्ड, आरजु र शेरबहादुर देउवासँग पनि थियो । जनार्दन शर्माको व्यापारिक साझेदारका रूपमा समेत चर्चामा आइरहेका दीपक भट्ट आरजुसँग पनि अति घनिष्ट सम्बन्ध बनाउन सफल भएका छन् । आरजु र जनार्दनबीचको सम्बन्धमा निखार ल्याउन पनि दीपकले नै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
स्मरणीय छ, ललितपुर जावलाखेलस्थित चिडियाखानाको पश्चिमतर्फ रहेको उमेश श्रेष्ठको घर, जहाँ वर्षौंदेखि जनार्दन शर्मा बस्दै आएका छन्, उक्त घर उपहारका रूपमा जनार्दन शर्मालाई उपलब्ध गराएको छ । जनार्दन शर्माको बालाजुस्थत जनमैत्री अस्पताल उमेश श्रेष्ठले खरिद गरिदिएर शर्माको उद्धार गरिदिएका छन् । सत्ताइस वर्षीय आफ्ना पुत्रलाई पनि आरजु राणाले यसपटकदेखि सत्ताको दुरुपयोग गरेर धन आर्जन गर्ने कार्यमा सामेल गराउन थालेकी छिन् । स्वदेशी सेनेटरी उद्योग धराशायी बन्ने गरी पचहत्तर प्रतिशत भन्सार छुट गराएर विदेशबाट सेनेटरी प्याड आयात गरी करोडौँ कमाउने योजनाको मुख्य नाइके जयवीर सिंह देउवालाई बनाइएको थियो । समाज र राष्ट्र सेवाका कामलाई भन्दा धन आर्जनलाई प्राथमिकता दिन आमा आरजुले सिकाएको बाटोमा लाग्दा जयबीर सिंह देउवा युवास्थमै विवादमा तानिएका छन् ।
आरजु राणा, जयवीर सिंह देउवा, उमेश श्रेष्ठ, जनार्दन शर्मा, विश्वनाथ पौडेल र दीपक भट्टको टोलीलाई निकट रहेर सहयोग पुऱ्याउनेहरूमा आरजुका भाइ भुषण राणा, सूर्यबहादुर थापाका नाति शिद्धार्थ थापा र यौन अपराधमा मुछिएर विवादमा तानिएका विकल पौडेल रहेको बुझिन्छ । सेनेटरी प्याडदेखि सेना प्रहरीको सामान सप्लाइ र इम्बोस्ड नम्बरदेखि सिक्योरिटी प्रेससम्मको व्यापारमा उल्लिखित नौ जनाको गिरोह सशक्त ढङ्गले लागेको पाइएको छ । यसरी बलियो गिरोह खडा गरेर राज्यश्रोतको दोहन गर्नमा आरजु राणा र उनको गिरोहले भ्रष्टाचारको इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ ।
प्रतिक्रिया