अतिथि आउँदा आरजु भारतमा

अतिथि आउँदा आरजु भारतमा


  • file photo

चिनियाँ नेताको नेपाल भ्रमणका बेला प्रधानमन्त्री पत्नी तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भारत भ्रमणमा गएको कुराले निकै चर्चा पाएको छ । यही असार २६ गते आइतबार भारतको नयाँ दिल्ली गएकी उनलाई राजनीतिक वृत्तमा निकै चासोको विषय बनाइएको छ । एक महिनाअघि मात्रै भारत पुगेर विभिन्न दलका नेतालाई भेटी फर्किएकी उनलाई राजनीतिक महत्वाकाङ्क्षा पूरा गर्नका लागि भारतीय नेताहरूसँग निकट सम्बन्ध विकास गरेको भन्ने गरिएको छ । यद्यपि यसपटकको भारत भ्रमण राजनीतिक नभएर स्वास्थ्य उपचारसँग सम्बन्धित रहेको छ ।

प्राप्त जानकारी अनुसार गत जेठमा तल्लो पेटमा समस्या आएपछि जचाउँदा पाठेघरमा समस्या देखिएको थियो । केही दिनको उपचारपछि डाक्टरहरूले पाठेघरको अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए । नेपालका अस्पतालमै सहज रूपमा पाठेघर निकाल्ने ब्यवस्था भए पनि अन्य रोगको समेत उपचार भइरहेकोले उनले जोखिम लिन नचाहेको बताइएको छ । पाठेघर निकाल्नुपर्ने चिकित्सकहरूको सुझावपछि जेठमै अहिलेको समय लिइएको बताइन्छ ।

श्रोतका अनुसार, केही वर्षदेखि आरजुको स्वास्थ्यमा एकपछि अर्को जटिलता आइरहेको छ । दुई वर्षअघि नयाँ दिल्लीमै हिपको अप्रेशन भएको थियो । उक्त अप्रेशनपछि हिँड्नै गाह्रो भएको र, औषधिका कारण विभिन्न असर देखिएको थियो । कम्मरमा थप पीडा बढ्दै गएपछि जापानमा उनको उपचार गरिएको थियो । त्यतिबेला आमा प्रतिभा राणा जापानमा राजदूत भएकाले आरजुको उपचार जापानमा भएको हो । जापानमा लामो समय अस्पताल भर्ना गरेर उपचार भएको थियो ।

नेपाली नेताहरूले स्वास्थ्य उपचारको नाममा राजनीतिक भेटघाटका लागि नयाँ दिल्ली जाने गरेको र केही समयअगाडि मात्रै डा. आरजु राणा देउवाको नयाँ दिल्लीमा राजनीतिक भेटघाट भएको कारणले उनको भ्रमणलाई राजनीतिक रङ्ग दिइनु स्वाभाविक मानिएको छ । भ्रमण स्वास्थ्य उपचारमा मात्रै सीमित हुने विश्वास भने गरिएको छैन ।