मधेशकेन्द्रीत पार्टी पुन: विभाजित : फेरि अलग्गिँदै बाबुराम !

मधेशकेन्द्रीत पार्टी पुन: विभाजित : फेरि अलग्गिँदै बाबुराम !


मधेशकेन्द्रीत समूहभित्र उत्पन्न मत भिन्नताले मधेशको राजनीति संसदीय निर्वाचन अगावै नयाँ ढङ्गले ध्रुवकृत हुने सङ्केत दिएको छ । महन्थ ठाकुरलाई नेता मानेर अघि बढ्नेहरू एकजुट हुँदा उपेन्द्र यादवको समूह रक्षात्मक अवस्थामा पुग्ने सम्भावना देखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का नाममा सङ्गठित क्षेत्रियतावादी समूह पुन: विभाजनको सङ्घारमा पुगेको छ । २०६३ को परिवर्तनसँगै मध्येपूर्वी तराइका केही जिल्लालाई केन्द्र बनाएर मधेशी जनताका नाममा प्रकट भएका समूहहरू बितेका पन्ध्र वर्षभित्र दर्जन बढी पटक जुट्ने र फुट्ने गर्दै आएका छन् । सवा दुई वर्षअघि सङ्घीय फोरम र राष्ट्रिय जनता पार्टीबीच तिलस्मीपूर्ण ढङ्गले रातारात एकीकरण भएर बनेको जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराईबीच चरम अन्तरविरोध पैदा भएपछि उक्त पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेको हो ।

यादवले असार २९ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् भने बाबुराम भट्टराईले असार २८ गते भक्तपुरमा केन्द्रीय समितिको बैठकसहित विस्तारित भेलाको आयोजना गरेका छन् । चार सय एकाउन्न केन्द्रीय समितिका सदस्यहरूमध्ये को कतापट्टि भन्ने कुराको यकीन बैठक प्रारम्भ भएसँगै हुने विश्वास गरिएको छ ।

बाबुराम पक्षले बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू आफ्नो समर्थनमा रहने विश्वास गरेको छ भने उपेन्द्र यादवले पनि आफू बहुमतमा रहने दाबी गरेका छन् । आयोजित बैठक र भेलाबाट एउटाले अर्को पक्षका नेताहरूमाथि गम्भीर आरोप लगाउँदै पार्टीबाट निष्काशन गर्ने र चालिस प्रतिशत पुर्‍याउने पक्षले निर्वाचन आयोगमा गइ छुट्टै पार्टी दर्ता गर्नसक्ने सम्भावना छ । बाबुराम भट्टराईले आँखा चिन्हसहितको नयाँशक्ति पार्टीलाई पुनर्जीवित गर्ने सोच बनाएको बुझिएको छ । २८ गते भक्तपुरमा आयोजित विशेष भेलामा भट्टराईले पार्टीमा असामान्य स्थिति उत्पन्न हुनुको कारण स्पष्ट गर्दै त्यसको सम्पूर्ण दोष उपेन्द्र यादवमाथि लगाएका छन् । बाबुरामको भेलामा उनीबाहेक मधेशका पुराना नेता (सांसद) महेन्द्र राय यादवको विशेष उपस्थिति रहेको छ । नेता राजकिशोर यादव लगायतका सांसदहरू राजधानीमै भएर पनि बाबुरामद्वारा आयोजित भेलामा सहभागी भएनन् । जसपाका कुल १९ सांसदमध्ये कम्तिमा १२ जना उपेन्द्र यादवसँग असन्तुष्ट छन् ।

बाबुरामको भेलामा सहभागिता नजनाएका ती सांसदहरूमध्ये अधिकाङ्शले उपेन्द्र यादवद्वारा वीरगञ्जमा आयोजित बैठकमा पनि सहभागिता नजनाउने बुझिएको छ । राजकिशोर यादव लगायतका नेताहरू पार्टी विभाजनको विपक्षमा र एकताको पक्षमा छन् । तर अब पार्टी (जसपा) एकजुट रहने सम्भावना क्षीण भइसकेकोले राजकिशोरको टोली दुईमध्ये एउटाको पक्षमा लाग्न बाध्य हुनुपर्ने स्थिति छ । उपेन्द्र यादवसँग सँगै रहन मुस्किल हुने र बाबुरामलाई अघि लगाएर जाँदा मधेशमा पार्टी सङ्गठन विस्तारित एवम् गतिशील नहुने भएकोले राजकिशोरसहितका सांसदहरूको टोली किंकर्तव्यविमूढ बन्न पुगेका छन् ।

मधेशकेन्द्रीत समूहभित्र उत्पन्न मत भिन्नताले मधेशको राजनीति संसदीय निर्वाचन अगावै नयाँ ढङ्गले ध्रुवकृत हुने सङ्केत दिएको छ । महन्थ ठाकुरलाई नेता मानेर अघि बढ्नेहरू एकजुट हुँदा उपेन्द्र यादवको समूह रक्षात्मक अवस्थामा पुग्ने सम्भावना देखिएको छ । यसरी जसपा विभाजित हुँदा सत्ता गठनबन्धनमा त्यसको असर कुन रूपमा पर्ने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।