नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश (जेपी) नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् ।
प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ ।
दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको र सो अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।
प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच पनि भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।
माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान-प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओ नेतृत्वको आठ सदस्यीय टोली चीन फर्किएलगत्तै प्रचण्ड भारत प्रस्थान गर्नुलाई अर्थपूर्ण मानिएको छ । यसैबेला प्रधानमन्त्रीपत्नी आरजु देउवासमेत नयाँ दिल्लीमै रहेकोले पनि प्रचण्डको भारतयात्रा रहश्यपूर्ण रहेको चर्चा शुरु भएको छ ।
प्रतिक्रिया