कबड्डी-४ लाई अष्ट्रेलियामा ५१औँ दिनको सफलता

कबड्डी-४ लाई अष्ट्रेलियामा ५१औँ दिनको सफलता


  • राजन घिमिरे

नेपाली चलचित्रलाई विदेशमा बिस्तार गरिनु पर्छ । यसको उपस्थिति र प्रचार प्रवासमा रहनु हुने प्रवासी नेपालीहरूमाझ पनि पुर्‍याउनुपर्छ भन्ने कुरा नेपाल सरकारको कागजी-नीतिमा मात्र सीमित रह्यो । नीति कहिले पनि कार्यान्वयन गर्ने जमर्को यस विधासँग आवद्ध सम्बन्धित पक्षले कहिले पनि गरेनन् र त्यसतर्फ ध्यान पनि दिएनन् ।

बरू, यतिबेला प्रवासमै रहेका नेपाली उत्साही युवाहरूको उत्साहले प्रवासमा बिस्तारै नेपाली चलचित्रले प्रसारित हुने अवसर पाउनुका साथै प्रवासमा रहनुहुने नेपालीहरूको नयाँ नेपाली चलचित्र हेर्ने चाहना पूरा गरिदिएका छन् ।

यसैक्रममा नेपाली चलचित्रको इतिहासमा नै पहिलोपटक प्रवासमा एउटा चलचित्रले प्रदर्शनको ५१औँ दिन मनाएको छ । यसरी प्रवासमा प्रदशर्नको ५१औं दिन मनाउन सफल भएको चलचित्र हो कबड्डी-४ । यो चलचित्रले बिहीबार अष्ट्रेलियामा प्रदर्शनको ५१औं दिन मनाएर प्रबासमा नेपाली सिनेमाको नयाँ इतिहास कोरेको छ ।

‘बिहिबार हामीले ५१औँ शो गर्‍यौँ । यो शोसम्म आइपुग्दा हामी गौरवान्वित भएका छौँ कि कबड्डी-४ ले अष्ट्रेलियामा प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको छ’-यो चलचित्रको अष्ट्रेलिया अधिकार खरिद गरेका रोशन भट्टराई र विनोद पौडेलले जानकारी दिए ।

चलचित्र कबड्डी-४ सिड्नीमा मात्र ३९ शो र पूरा अष्ट्रेलियामा ९० शो भएको थियो । यो चलचित्र सिड्नीबाहेक अष्ट्रेलियको ब्रिसबेन, मेलबर्न, एडिलेट, डार्बिन, तास्मनिया, पर्थ र क्यानभरामा प्रदर्शन भएको थियो । चलचित्रको अष्ट्रेलिया अधिकार लिएका रोशन भट्टराईकाअनुसार यो भन्दा पहिला उनले नै प्रदर्शनको अधिकार लिएको चलचित्र जात्रै जात्राको पनि राम्रो प्रर्दशन भएको थियो ।

कबड्डी-४ को सफल प्रदर्शनपछि अष्ट्रेलियामा नेपाली चलचित्रको राम्रो बजार खोज्ने र सिनेमाको बजार सुखद बनाउन भट्टराईको समूहले खेलेको भूमिकाको प्रशंसा गरिन् थालिएको छ । यस हिसाबले पूरा अष्ट्रेलियामा चलचित्र कबड्डी–४ ले बिहीबारसम्म ४ करोड भन्दा बढी नेपाली रकÞम संकलन गरेको छ । अष्ट्रेलियामा नेपाली सिनेमाले यत्तिका रकम संकलन गरेको यो नै पहिलो पटक हो ।

त्यसो त चलचित्रले रकम संकलन गर्नुभन्दा पनि नयाँ नेपाली चलचित्रलाई नेपालमा रिलिज भएकै दिन प्रवासमा पनि रिलिज गराएर प्रबासमा नेपाली चलचित्रलाई सफलताका साथ देखाउन पाएकोमा भट्टराई दंग छन् । उनले अगाडि भने- ‘हामीले जोखिम मोलेर प्रवासमा दु:ख गरेर कमाएको रकÞम खर्च गरेर ल्याएको चलचित्रलाई यसरी अष्ट्रेलियामा रहनुहुने नेपालीहरूले साथ दिनु भएकोमा हामी उहाँहरूप्रति आभारी छौँ । आगामी दिनमा पनि नयाँ-नयाँ नेपाली चलचित्रहरूलाई अष्ट्रेलियामा प्रदर्शन गर्नका लागि हामीमा उत्साह थपिएको छ ।’

त्यसो त, अष्ट्रेलियामा प्रदर्शन गरिएका सबै नेपाली चलचित्रहरूले सफलताको स्वाद चाख्न भने पाएका छैनन् । दालभात तरकारी, लभ स्टेशन, लप्पन छप्पन-२, राम कहानी, कान्छीलगायतका केही चलचित्रहरू ब्यावसायिक रूपमा असफल भएपछि अष्ट्रेलियामा नेपाली चलचित्र खरिद गर्ने बितरकह झस्किएका थिए । पछिल्लो समय अष्ट्रेलियाको प्रदर्शनको लागि नेपाली चलचित्र खरिद गर्ने वितरकहरूको भिडमा राम्रोसँग चलचित्रको प्रचार गरेर अष्ट्रेलियामा चलचित्र देखाउने मामिलामा अगाडि रहेका भट्टराईको समूहले कबड्डी-४ को सफलतासँगै अष्ट्रेलियामा नेपाली चलचित्रको वजन बढाउने, बजार बिस्तार गर्ने र नेपाली समुदायमा नेपाली चलचित्रको पहुँच पुर्‍याउने कार्यमा खेलेको भूमिकाको यतिबेला मुक्तकण्ठले वाहवाही गर्न थालिएको छ ।