photo: rss
भट्टराईसहित जसपाका नौ नेतालाई पदमुक्त गरेको उपेन्द्र यादवको उद्घोष
जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।
वीरगञ्जमा जारी दुईदिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधानविपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
जसपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति सिद्धान्त तथा विधानविपरीतको कार्य गरेको आरोप लगाउँदै नेताहरु भट्टराई, महेन्द्रराय यादव, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी, भगतबहादुर साहसहित नौ जनालाई पदमुक्त गरिएको जानकारी दिए ।
केन्द्रीय समितिको बैठकले सर्वसम्मतरुपमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई पार्टीको सङ्घीय परिषद् अध्यक्षमा चयन गरेको बताए ।
बैठकले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कांग्रेससहितको पाँच दलिय गठबन्धनमै लड्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय गरिएको बताए ।
कारवाही गरिएका व्यक्तिले गल्ती स्वीकार गर्दै आत्मलोचना गरी आए पार्टीको ढोका खुला राखिएको अध्यक्ष यादवको भनाइ छ ।
पत्रकार सम्मेलनमा सहभागी रहेका राईले पार्टीको घोषित लक्ष्य तथा उद्देश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा सङ्गठनात्मक निर्णय गरेको जानकारी दिँदै पार्टी फुटाउने, सङ्गठनलाई कमजोर पार्नेजस्ता गतिविधिले पार्टीलाई कमजोर गर्नुको सट्टा थप बलियो र एकजुट बनाएको आरोप लगाए ।
प्रतिक्रिया