यादहरू

यादहरू


  • रामचन्द्र ढकाल

तिमीलाई भेट्न जाँदा लजाएका नयनहरू
यौवनका श्रृङ्गारसँगै मौलाएका बदनहरू
हिँडाइमा देखिएका डराएका तिम्रा कदम्
संगीतमय थिए कति छमछमी पाउजुहरू ।

लाजसँगै भुइँतिर लर्किएका पारीहरू
मुस्कानसँगै लाडिएका ति सुस्केराहरू
ताजै लाग्छ आज पनि बाडुल्किका भाका सबै
सबै सबै ठिक छ भन्ने ईसाराका चिन्हहरू ।।

हात पाउ देख्दा लाग्थ्यो पटुकीका डोबहरू
साडीसँग सजिएका बुट्टेचोली पारीहरू
कति राम्रो आहा देख्दा परिझैँ पो दोखियौ त
लाजसँगै भिजेका ति गुलाबसरी ओठहरू ।

म पनि त उही थिएँ थिए भिन्न रहरहरू
के के सोचेँ त्यतिबेला आए जति कुराहरू
यो भन्दा त उ पो राम्रो किन आएँ यति टाढा
भन्दाभन्दै मस्त भएँ भुलिगएँ अतीतहरू ।।

बाचा बचन थिएन नि मन्का थिए भाकाहरू
बोलि मिसिएन फेरि लुकाइबसेँ रहरहरू
तिमी पनि उस्तै पाएँ पहिलोचोटि भेट्दा मैले
भन्न खोज्दाखोज्दै हिँडेँ के के थिए कुराहरू ।

फुली देखेँ टल्किएको कानमा झुम्काहरू
दाँत देखेँ मिलेका ति पिपलपाते ओठहरू
अरू त क्यै देखिन खै अरू पनि थिए होला
लजायौ नि तिमी पनि थिए तिम्रा यादहरू ।

पानी भर्न जाने बाटो पोखिएका बोलीहरू
चिप्लो थियो सुख्खा थियो बिर्सिएका पलहरू
एकोहोरो हेरी बसेँ तिमीलाई देखुँ भनी
भो भो भन्दै उडेका ति गाउँतिर चरीहरू ।

आउ दाजु आउ दिदी भएजति नाताहरू
दिन जुराइ आउने होला मिली तिनै छाताहरू
अब के के गर्नु पर्छ मिलाउनु है सबै तिमी
बन्द गर्नु सबै तिम्रा पुराना सब् खाताहरू !

  • कोमल, काठमाडौं