हुस्सुले ढाकेको बस्ती

हुस्सुले ढाकेको बस्ती


  • बलराम सिलवाल

फलानो मऱ्यो ढिस्कानो मऱ्यो, भन्छ अबुझ मनुवा ।
आफू मर्ने चेत छैन, खान्छ भात लेकाली झिनुवा ।।
जीवन बाँच्ने रमाइलोसित, केही धोको नराखी ।
मरेसि के-के हुने होला, मृतक जाने केही नबोली ।।

स्वायु दुई बीस वर्ष मनुष्यको, परायु तीन बीसको ।
धन/इज्जत कमाऊ, भक्ति लगाऊ सधैं ईश्वरको ।।
सगरको नौ लाख तारा, गन्नलाई साह्रै गाह्रो भो ।
तामसी भोजन तामसी कर्म, जिन्दगानी नर्क भो ।।

मत्वाली रक्सी पिउन्या, कठिनमा नछोड्ने हदबन्दी ।
बाहुनचरी जाँड ज्यास्ता धोक्न्या, क्या भयो मनपरी ।।
क्या रम्यधम्य गोकुल मथुरा वृन्दावन, कृष्ण कालेको ।
छैन राजनेता नेपालमा, जगजगी छ फटाहा नेताको ।।

भो पृथ्वीनारानको अस्त, विदेशीको सुक्ष्म चकचकी ।
राणाले जुवा फुकाए, कुदे जुवाडे पोखरीमा भटाभटी ।।
झण्डै पटेलले निल्यो नेपाल, नेहरूले जसोतसो बचाए ।
गण्डकी कोशी महाकाली बेचियो, ऐंजेरु काजी पलाए ।।

बन्द गर स्तुतिपरक साहित्य, जनताको व्यथा कोर्नु छ ।
देशघाती परास्त गरी, रक्तबीज झैँ देशभक्त जन्माउनु छ ।।
बाँचौँ नेपाली बँचाऔँ नेपाल, नकार्दै धुर्त पराधीनता ।
अखण्ड तुल्यायौं मातालाई, बचाउँदै यसको सम्प्रभुता ।।

  • भण्डारा, चितवन