नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन जित्नका लागि विदेशसँग पैसा माग्ने काम बन्द गर्नुपर्ने बताएका छन् । नेपाल-चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले सत्ता ढलाउन र सञ्चालनका लागि विदेशी शक्ति आमन्त्रण गर्ने कार्य बन्द गर्नुपर्ने जिकिर गरे ।
‘चुुनाव लड्न वा पार्टी चलाउन कुनै विदेश शक्तिसँग नेताले वा राजनीतिक दलले पैसा लिन बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘आफनो निर्वाचन क्षेत्रमा बजेटको परिधी भन्दा बाहिर गएर बिदेशी शक्तीसँग सहयोग माग्ने कार्य बन्द पनि गर्नुपर्छ ।’
श्रेष्ठले भु-राजनीतिक अवस्था सही ठाउँमा राख्नका लागि चार वटा विषयमा जोड गर्दै सन्तान र नातागोताका लागि छात्रावृत्तिका लागि सहयोग माग्ने काम पनि बन्द गर्नुपर्ने तर्क राखे ।
‘आफ्नो छोराछोरी र अन्य नातेदारका सन्तानलाई छात्रावृत्ति दिलाई देऊ भनेर विदेशी दुतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले अगाडी भने, ‘त्यसैगरी सत्ता फयाक्ने वा आफु सत्तामा जानका लागि विदेशी शक्तिको हस्तक्षेप स्विकार गर्ने वा आमन्त्रण गर्ने कार्य बन्द गर्नुपर्छ ।’
सो अवसरमा राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको धारणा राख्दै उनले नेपालले सबैभरी असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको एक्यवद्धता हुनुपर्ने बताए । नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी गर्दै उनले यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा अक्रमण भइरहेको तर्क गरे । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनको भनाइ थियो ।
कार्यक्रममा उनले अब वामपन्थीहरु कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने सुझाव दिए । उनले यसअघिको कम्युनिष्ट पार्टीहरुको एकतालाई जोगाउन नसकेकोमा आत्माअलोचना पनि गरे । उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्न आग्रह गरे, साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने बताए ।
‘बामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने, तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु ।’
प्रतिक्रिया