कृति-चर्चा
सपना लामिछाने (देउजा)द्वारा सिर्जित कविता-कृति हो ‘जिन्दगी एक यात्रा’ । यस पुस्तकको पाना पल्टाउँदै जाँदा कवियत्री सपनाले जीवन जिउने क्रममा भोगेका मूलतः सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक परिवेशका संस्मरणहरूलाई कवितामा सजाएर पाठकसमक्ष पस्किएको भेउ पाइन्छ । ‘जय होस्’ शीर्षकबाट श्रीगणेश भइ ‘पदार्थ’ सम्मका बयालिस वटा काव्यमय थुँगाहरूले सजाएको काव्यकृतिभित्रका एक-दुई काव्य-पुष्पको अलिकति चर्चा गरुँ ।
शीर्षक ‘कामना’ भए पनि यसमा कसैप्रति शुभकामना व्यक्त गरेको नभै नारीको परिचय, विशेषता र महत्वबारे व्यक्तिएका काव्योद्गारहरू निक्कै घतिला लाग्छन् ।
नारी आमा हुन्
नारी जगत् जननी हुन्
नारी दया, माया र प्रेमकी मूर्ति हुन्
नारी साहस हुन्
नारी संसार देखाउने दृष्टि हुन् !
नारीमा यतिविध्न विशेषताहरू हुँदाहुदै पनि आमनारीले भोग्नुपर्ने पीडा र नारीको विशेषता एवम् गरिमा सम्बन्धमा कवियत्री प्रभा भट्टराई आचार्यबाट व्यक्तिएका नारी शीर्षकका कवितामा प्रकाशित अलिकति यहाँ उल्लेख गरुँ-
सृष्टिकै मूल हो नारी आदि शक्ति तपश्विनी
कहि निदय, कही स्तुप दुईवटा छ जीवनी
पुजिन्छे कहिले नारी देवी, माता भनी भनी
दबिन्छे कहिले नारी जुत्ताका तलुवामुनी !
जिन्दगी एक यात्रा कृतिमा समेटिएका कवितामध्ये ‘बिहानीको झुल्केघाम’ शीर्षकमा व्यक्त करुण रसप्रधान काव्योद्गारहरू निक्कै मार्मिक लाग्छन् ।
मेरो आस्थाको सगरमाथा
मेरो मालिक
मेरो स्वामी
मेरो आँगनको जुन
मेरो मायाको सागर
बिलाएर गयौ तिमी ।
शीर्षक ‘बिहानीको झुुल्के घाम’ भए पनि पतिवियोगको चरम पीडा भोगाइ हुनाले बिहानीको उज्यालो नभएर अस्ताउन लागेको सूर्यको थोरै उज्यालो जस्तो अनुभूत हुन्छ यी कवितांशहरू पढ्दा ।
खासमा यहाँ सान्दर्भिक कविता सङ्ग्रह मूलतः गद्यमय भएपनि केही कविता मुक्तकीय र केही गीति लयमा पनि व्यक्तिएका छन् । कविताप्रति चासो राख्ने आमपाठकहरू मध्ये धेरैजसो गद्यभन्दा पद्य कवितामै आकर्षित हुन्छन्, कविता सबै पठनीय नै लाग्छन् । पुस्तकको नाम ‘जिन्दगी एक यात्रा’ पनि सुहाउँदो लाग्छ । वास्तवमा जीवन र विविध परिवेशका भोगाइहरू यात्रा नै त हुन् । यसै शीर्षकमा सपना लामिछाने देउजाबाट दार्शनिक काव्योद्गारहरू व्यक्तिएका छन् । पहिलो पुस्तक भएर होला, ‘जिन्दगी एक यात्रा’मा व्याकरणात्मक त्रुटीहरू पनि भेटिन्छन् र पनि यो काव्यकृति भौतिक यात्रामा विविध परिस्थिति र परिवेशमा भौंतारिँदाको व्यक्तिगत संस्मरण मात्र नभएर आम मानवले जीवन जीउने क्रममा भोग्नुपरेका भोगाइहरू जस्तै सपना लामिछानेले भोगेका विविध भोगाइलाई काव्यात्मक रङ्गले सजाएर लोकर्पण गरिएको कृति हो । यसबाट आमपाठकहरूले आध्यत्मिक एवं दार्शनिक यात्राको सम्बन्धमा ज्ञान आर्जन गर्ने नै छन् ।
- लुमडी आचार्य
प्रतिक्रिया