‘मोदीसँग भेट नभए पनि मलाई कुनै टेन्सन छैन’ : प्रचण्ड

‘मोदीसँग भेट नभए पनि मलाई कुनै टेन्सन छैन’ : प्रचण्ड


  • photo: rss
प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग भेट सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने कुरा प्रस्ट भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएलगत्तै दक्षिणतर्फको छिमेकी मुलुक भारत पुगे ।

चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै राजनीतिक वृत्तमा भइरहको चर्चाबीच प्रचण्डले भारत भ्रमण गरेका हुन् । सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका उनले चिनियाँ अधिकारीको नेपाल भ्रमणसँग आफ्नो भारत भ्रमणको कुनै सन्दर्भ र महत्व नरहेको दाबी गरेका थिए । तर, तीनदिने भारत भ्रमणले भने चिनियाँ चासोको जवाफ दिएको भान भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हु्न्छ भन्दै शुक्रबार दिल्ली उडेका प्रचण्ड आइतबार स्वदेश फर्किए । तर, अन्तिमसम्म प्रयास गर्दा पनि मोदीसँग उनको भेटवार्ता हुन सकेन । स्वदेश फर्किएपछि मोदीसँगको भेटलाई उनले खासै महत्त्वशाली नभएको भन्ने खालको जवाफ दिए ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । ‘के कारणले भेट भएन मैले पनि तपाईंहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला, त्यो भन्दा बढी हुँदैनथ्यो ।’

प्रचण्डले भनेजस्तै मोदीसँगको उनको भेटको अपेक्षा फोटोसँग मात्र होला ? प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग भेट सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने कुरा प्रस्ट भएको छ ।

यससँगै प्रचण्डले मोदीसँग भेटेको भए फोटो खिच्ने कुरा मात्र हुने र त्यो भन्दा बढी नहुने अर्थमा कतिपयले बुझेका छन् । के यसअघिका भेटमा सीमा, व्यापारलगायत राष्ट्रिय हीतका विषयमा हुने गरेका भनिएका वार्ताहरु बारेको विवरणहरु सत्य थिएनन् त भन्ने प्रश्न उब्जिएको छ ।

उनको भ्रमण विशेषतः सत्तापक्षसँग मात्र केन्द्रीत रहेको देखिएको छ । प्रचण्डले निम्ता दिने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाबाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन् ।

सत्तारुढ दलका एकजना अध्यक्षलाई बोलाएर भारतले चीनलाई आफू गठबन्धनको पक्षमा रहेको संकेत भने स्पष्ट रुपमा दिएको छ । चीनले वाम दलहरुलाई एक बनाउने प्रयास गरे पनि सत्तारुढ दलसँग आफूहरुको राम्रो सम्बध रहको देखाउने अवसरको भारतले भरपूर उपयोग गरेको देखिएको छ ।

आफ्नो भारत भ्रमण सफल भएको दाबी प्रचण्डको छ । मोदीसँग भेट नभए पनि अरुसँगको भेट उलपब्धिपूर्ण भएको उनी बताउँछन् । ‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भने, ‘म निकै आशावादी भएर फर्किएको छु।’

‘अजित डोभलसँग दुई घण्टा एक्लै छलफल गरेँ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन् ।

भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग प्रचण्डले आफूले डोभलसँग लामो छलफल गरेको बताए ।

डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको उनले बताए । उनले उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी पनि गरे ।

प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि लामो भेट भएको बताए ।