असी बढी निर्वाचन क्षेत्रमा काङ्ग्रेसको मत कम्युनिष्टलाई !

असी बढी निर्वाचन क्षेत्रमा काङ्ग्रेसको मत कम्युनिष्टलाई !


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत साता सम्पन्न बैठकले स्थानीय निर्वाचनमा कम्युनिष्ट घटकहरुसङ्ग गठबन्धन बनाएर चुनाव लड्दा प्राप्त परिणामप्रति सन्तुष्टि जाहेर गरेको छ । बैठकले आगामी संसदीय निर्वाचनमा पनि सत्ता गठबन्धनका दलहरुसङ्ग चुनावी तालमेल गरेर अघिबढ्ने निर्णय पनि लिएको छ ।

बैठकपश्चात् कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली काङ्ग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सृदुढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थीर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसङ्ग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’

साथै, तालमेल गरिरहँदा नेपाली काङ्ग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ सङ्गठनको वस्तुस्थिति तथा पार्टी पङ्क्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसङ्ग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय पनि बैठकले गरेको छ । यसरी काङ्ग्रेस पार्टी माओवादीसङ्गको गठबन्धनप्रति सन्तुष्ट रहनुले आगामी निर्वाचनमा पनि असीभन्दा बढी निर्वाचन क्षेत्रमा काङ्ग्रेसका मतदाताहरु कम्युनिष्ट उम्मेदवारलाई मतदान गर्न बाध्य हुनुपर्ने स्थिति देखिएको छ ।