लिखित अन्तवार्तापछि मात्रै नागरिकता प्रदान गर्नु नेमकिपाको प्रस्ताव

लिखित अन्तवार्तापछि मात्रै नागरिकता प्रदान गर्नु नेमकिपाको प्रस्ताव


नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनुअघि अन्तवार्ता लिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीकातर्फवाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्तापछि मात्रै जन्मको आधारमा नागरिकता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्ष पछि र बेलायतमा ६ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’

जारी बैठकमा सरकारले पेश गरेको नागरिकता विधेयकका बारेमा छलफल जारी छ ।

यसैक्रममा नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताका तर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् ।

‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’

नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनः पठाउनुपर्ने अधिकारीको माग छ ।

यसअघि संसद्मा पेस गरेको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेस गरेपछि प्रतिनिधिसभा बैठकको जारी बैठकमा फास्ट ट्रयाकबाट पारित गराउन प्रयास भएपछि अधिकारीलगायतले आपत्ति जनाएका छन् ।