‘बधाई छ पूर्वप्रिय… अब स्वतन्त्र भयौ !’

‘बधाई छ पूर्वप्रिय… अब स्वतन्त्र भयौ !’


  • रसना ढकाल

दिनभरको कामको थकान लिएर आएको शरीर छोरीको सामिप्यताले सबै बिर्सन्थेँ । हामी बाउ-छोरीको प्रगाढ माया छ । छोरीसँग रमाउँदै बस्दा आमाले खान खान डाक्नुहुन्थ्यो । हामी कुँदेर जान्थ्यौँ । खानापछि बाउछोरी ओछयानमा आउँथ्यौँ । बडो गजबले दिन बित्दै थिए । त्यत्तिकैमा तिम्रो मिसकलको घण्टी मोबाइलमा आउन सुरु हुन्थ्यो । फोन प्रयोगकर्ता धेरै छन्, कसैको झुक्किएर पो आयो कि भन्ने सोच्थेँ । तर तारन्तार आउँदा कसको हो भनेर मलाई सोच्न बाध्य बनायो । र, मैले सबै सोधपुछ गर्दा तिम्रो नाममा सिम रहेको फेला पारेँ । त्यो अपरिचत नम्बर त तिम्रो पो रहेछ, किन मलाई मिस कल गरेको आफै आश्चर्यचकित भए । तिमीले भनेकी थियौ, हाम्रो सम्बन्ध सागर जस्तो गहिरो आकाश जस्तो विशाल तर त्यो त भ्रम रहेछ । मेरो लागि तिम्रो माया घर आँगनबाट बग्ने कुलो जस्तो नि भएन, विशाल आकाशको त के कुरा गर्नु ।

तिमीलाई कुनैबेला ‘हे प्रिय’ भनेर सम्बोधन गर्थें तर त्यो सोझो सम्बोधनलाई तिमीले यसरी बङ्ग्याइदियौ कि कुरा सोझो हुन सकेन बरु झन् टुटेर गयो । तिम्रो-मेरो आँखा जुधाजुधलाई विवाहमा परिणत गरेँ । राम्रैसँग घरबार चलिरहेको थियो । एकदिन अचानक के भयो तिमीलाई ठूलो आवाज निकालेर फोन गऱ्यौँ, तिमी तिम्री आमाबुबासँग बस, म जान्छु माइत । झगडाको कारण के थियो भन भन भन्दै गरेँ, तिम्रो चर्को आवाजको अघि मेरो मन्द आवाज सुनिनौ । तिमीलाई धेरै माया गर्थें । आमाबुबाबाट संस्कार पाएको केटा हुँ म सबैलाई सम्मान व्यवहार गर्नुपर्छ मेरी आमाले मलाई आशीर्वाद दिनुहुन्थ्यो । त्यो कुरा व्यवहारमा परिणत पनि भयो । तर, तिमीसँग सम्बन्ध भएदेखि म आफू अपमानको शिकार भइरहेँ तर तिमीले सम्मान गरिनौँ ।

हे पूर्वसाथी ! तिमी एक नारी हौ । महान् छौ । यो सृष्टि तिमीहरूबाटै चलेको छ । तर सृष्टिलाई चलाउन साथ दिने म जस्तो पुरुषको पनि इज्जत छ । यो सृष्टिमा मेरो पनि अधिकार र समर्पण छ ।

मैले बिर्सेको छैन- सम्बन्धमा चिसोपन आएपछि तिमीले अरुलाई बोलायौ, मेरो विपक्षमा कुरा गर्न सिकायौ, उनीहरूको एकतर्फी बोलीले मेरो र मेरो परिवारको बोली बन्द गराइदियो । आँशु बगाएर बसेँ तर तिम्रो साथमा आएका व्यक्तिहरूको कठोर बचन र एकतर्फी बोलिको शिकार हुन नपरोस् भन्ने निर्णय गरेँ । त्यही बेला मैले तीन वर्षकी छोरीलाई समातेर ‘तिमीलाई छोड्न तयार छु तर छोरी छोडदिनँ’ भने । तिम्रो-मेरो सम्बन्धमा तेस्रो व्यक्ति ल्याउनुपर्ने आवश्यकता थिएन । ती अपरिचतहरूलाई म जान्दिनँ थिएँ, मैले त बस्… प्रहरी र अदालत मात्रै जानेको थिए । र, अहिले पनि त्यही बुझ्छु ।

तिमी मेरी छोरीलाई जन्म दिएकी आमा हौ । तिमीमाथि पूरा सृष्टि र समाजको विश्वास छ । तिमीले सन्तानलाई हेरौँ भने त्यहाँ बुबाको कुनै नाम आउँदैन । तिम्रो महानता नै देखिन्छ । त्यो पनि मैले स्वीकार गरेँ । तर, अति नै भएपछि तिमीसँग सम्बन्ध टुटाउन नै आवश्यक ठानेँ । किन सहेर बस्नु कचकच र तनाव ? किन मेरो लागि तिम्रो भविष्य चौपट पार्छौ ? जाउ… तिम्रो पनि जीवन छ । स्वतन्त्र भएर बाँच, कसैको बन्धनमा नबाँधिउ, तर बिन्ती छ मेरो जीवनमा फेरि कहिल्यै आउने कोशिस नगर !

प्रहरीमा गएर तथानाम भन्दा पनि म चुप रहेँ । तिमीसँग आएका अपरिचत महिलाहरूले तिम्रो पक्षमा बोले, तर हाम्रो सम्बन्ध तिमी परिचित भएकोले त जानिनौ भने ती तिम्रो पछि लागेर आएकालाई के थाहा हुन्थ्यो र ? शरीरमा घाउखत पनि थिएन, मानिसक रूपमा धेरै खत भएको भन्यौ, विवाहको पाँच वर्ष सङ्घर्ष गरेँ भन्यौ तर यो भनिनौ कि विवाह भएकै वर्ष दुई-दुई पटक कुनै रोगको अप्रेसन गरेको र त्यसमा दुःख कसले पाएको थियो भनेर । म त्यहाँ केही बोलिनँ किनकि मलाई मेरा बुबाआमालगायत सबै परिवारको मान राख्नु छ । मेरो आमा हिंसा दिने व्यक्ति होइनन्, उनले हामीलाई यही संस्कार दिएकी छन् । त्यो संस्कार पाउन मेरो दोष होइन ।

मेरो दाजुभाइ दिदी-बहिनी सबै मलाई प्यारा लाग्छन्, किनकि हामी एक आमाको कोखबाट जन्म लिएका हौँ । तिमीसँग सम्बन्ध पछिबाट बनेको हो, त्यो पनि सृष्टि चलाउनु पर्छ घर धान्न नाति नातिना चाहियो भन्दै आमा बुबाले भनेपछि यो निर्णय लिन पुगेको थिएँ । तर आज आफै पश्चाताप गर्दैछु, किन मैले यस्तो निर्णय लिएँ भनेर । म अरु महिलाहरूसँग रमाउने, आफ्नोलाई पर राखेर अरुलाई समाउने व्यक्ति पनि होइन, तर तिम्रो भावले मलाई हिंस्रकको तराजुमा राख्यो र तिमीलाई बलवान बनायो । जब हाम्रो झगडा सकियो, प्रहरी कार्यालयबाट निस्कँदा तिमीले मेरो हात समायौ अनि ‘के अब यत्ति नै हो त हाम्रो साथ ?’ भन्यौ । तिम्रो प्रश्नको जवाफ सम्बन्धित निकायमा पाइसकेकी थियौ मैले केही भन्न चाहिनँ । आखिर अलिकति कहीँ भित्र मप्रति माया त रहेछ नि भन्ने बुझेँ तर, समय धेरै पर गैसकेको थियो, तिमीले दिएको यातनाको कारण तिमीप्रतिको माया नै मरिसकेको थियो ।

सम्बन्धविच्छेद मात्र भन्यौ तिमीले, बरु मलाई बलात्कार र वैवाहिक बलात्कारको मुद्दामा फसाइदिएको भए हुन्थ्यो, म थुनामा त बस्थेँ, अहिले तिमीले जे भन्यौ त्यही हुन्छ यो समाजमा । तिमी रोएको सबैले देख्छन् तर हामी पुरुष रोएको कसैले देख्दैनन् । पुरुषहिंसा दिने प्राणी हो भनेर समाजलाई चिनाउँछन् तर यो घटनामा म पुरुषहिंसामा परेँ तिमी पीडित पऱ्यौ । बाध्य भएर म आफैं अदालत गई फिराद दर्ता गरेँ । तर तिमी पहिला गएको भए सम्बन्धबिच्छेद अलि चाँडै हुन्थ्यो । तिमी माइत गयौ, म अदालत गएँ । कानुनले यति धेरै प्रश्न सोध्यो कि सबैको जवाफ मन नलाइ-नलाइ दिएँ किनकि म तिमीलाई अत्यधिक माया गर्थें ।

जसरी तिमी प्रहरीसमक्ष स्वर ठूलो गरेर बोल्यौ त्यति इजलासमा वकिलले प्रश्न गर्दा बोलिनौ । शायद तिमीभित्रका रिस मर्न लागेको हो कि भन्ने सङ्केत बुझेको थिएँ । तर दुर्भाग्य ! तिमीभित्रको रिस मऱ्यो कि बाँच्यो थाहा भएन तर मभित्र रहेको तिमीप्रतिको माया पूरै मऱ्यो । माइतीको बुबाआमाले ज्वाइँ नै सम्बोधन गर्दै थिए । तर मैले नै भनेँ, ‘मलाई ज्वाइँ नभन्नु, म हिंसा दिने पुरुष हुँ, बरु मलाई हिंस्रक भन्नु ।’ यो कुरा सुनेर विपक्षी वकिलले ‘…यस्ता हुँदैनन्, पुरुष हुँदैमा हिंसा दिने महिलापीडित हुने भन्ने हुँदैन, धेरै ठाउँमा महिला पीडकको भूमिकामा छन् । त्यस्तालाई बाहिर ल्याउनैपर्छ ।’ वकिलका सवालहरू सकिए र न्यायाधीशको जवाफ ‘सम्बन्धविच्छेद’ भन्दै आयो । हस्ताक्षर गर्नुपर्ने ठाउँमा गरेँ । घरदेखि सुरु भएको सम्बन्ध अदालतमा गएर टुङ्गियो । आखिर तिम्रो र मेरो बाटो अलग भयो । मेरो जीवनको अन्तरालमा कोहिप्रति माया बसेछ भने धेरै सोच्न बाध्य हुन्छु होइन भने म मेरो छोरीसँग खुशी छु तिमी आउनुपर्दैन । बधाई छ पूर्वप्रिय तिमीलाई… अब स्वतन्त्र भयौ !

(जिल्ला अदालत काठमाडौंको इजलासमा सम्बन्धविच्छेदको निर्णय हुँदै गर्दा देखिएको एक दृश्यमा आधारित)