जीवन यथार्थ

जीवन यथार्थ


  • बलराम सिलवाल

शुरूका वर्ष त उटपट्याङ गफमा बितेछ । बेमानीलाई जेमानी भनियो । अरी नचाहेर नि पैतृक वैरी ब्यहोर्नु परो । वैमनस्य परिस्थितिले जन्माउँदो । ज्ञान कमाउन, उत्तीर्ण हुन र सक्षम नागरिक बन्न पढ्नु परो । प्रथम हुनु त मेरो दोष होइन तैपनि साथीहरू शत्रु हुँदा छाती चस्क्न्थ्यो । आफ्नो अन्तर्मुखी स्वभाव हुनाले स्कुले जीवनमा कमै हिमचिम गरियो । कोहीसित नि गहिरो दोस्ताना भएन मेरो । सायद मेरो ग्रहदशाले हो कि । सम्प्रति मित्रत्व छैन । गहन मित्रत्व नफापेसि सबैसित समान व्यवहार । कोही नजिक कोही टाढा छैन किन्तु कोही त चिढिएका छन् । सबैलाई खुशी पार्न सकिन्न । चिढिएर के फरक पर्छ र ? दुई चार दिन फलानो यस्तो भनेर निन्दा गर्ला, पछि आफै थाक्छ । यो मान्छेले मलाई यसो भन्ला कि त्यो मान्छेले त्यसो भन्ला कि भनेर डराउने हो भने जीवनको पचहत्तर फिसदी फोसामा बित्छ ।

यस्तो तर्क वितर्क बोकेर के साध्य ? आफू अघि बढ्ने हो । पछि त यी लिलिपुटहरूले सत्य आत्मसात् गर्नु नै पर्ने हुन्छ । जीवन जीवनमय हुनुपर्छ । यो त बृहत् पिण्ड जस्तो गहन छ, गरुँगो छ । श्लील वार्तालाप त ठीकै हो, परस्त्रीहरूसित अश्लील पारामा प्रस्तुत हुनु चैं पाप बोकेर नरकगामी हुनु हो । ठिटौलेमा जोश हुन्छ, होस हुन्न, पाप गर्छ । बुढ्यौलीमा प्रायश्चितार्थ राम नाम जप्दो तर ढिलो भईसक्छ । हीनग्रन्थीले ग्रस्त धेरै । कलैयाबाट ल्याकत जाँच पास गर्न नसकेका मान्ठाहरू मान्छेहरूसित तर्कन्छन् । भेडा स्वभावको मनुवा धेरै । नकामगरुवाको पिछलग्गु । सत्यासत्य छुट्याउने विवेकको साँचो छैन । जाँडरक्सी धोक्यो, तरुनी खेतीमा जिन्दगी रित्यायो ।

समाजको संरचना प्रस्तुत कथासित मिल्दोजुल्दो । नगरपालिकाध्यक्षले आफू विजयी भएकोमा भोजको आयोजना गरेछ । टपरीमा मासु च्युरा । एकजना निम्तारुले खाँबोलाई भित्र पारेर टपरी थापेछ, हात झिक्दा आएन । हाहाकार मच्चियो; कोही खाँबो काट्नुपर्छ त कोही हात काट्नुपर्छ भन्ने भए ।

घरधनी खाँबो काट्न सहमत नभएसि हात काट्ने सल्लाह भो । लास्टाँ पीडितले भगवान गुहार्यो । नभन्दै कसो कसो अर्को गाउँबाट एकजना विद्वान आईपुगेछ । उसले वस्तुस्थिति नियाल्यो र पीडितलाई भन्यो, ‘भाइ, टपरी मेरो हातमा देऊ; अब हात निकाल ।’ हात निस्क्यो; पीडित बुद्धिमानप्रति कृतज्ञ भो । गाउँलेहरूले यो मान्छेको एक चोक्टा मासु खान पाए हाम्रो नि बुद्धि आउँथ्यो भनेर बुद्धिमानलाई लखेट्न थाले । बुद्धिमानले बल्लतल्ल आफ्नो गाउँ पुगेर ज्यान बचायो ।

आधा शताब्दी त हाँसखेलमै बित्यो । बुद्धको जीवनी पढेसि चैं जीवनमार्ग बदल्नुपर्छ जस्तो लाग्यो मलाई । फरक स्वभावको भएछु कि, मान्छेहरू बितरिए । खाँच्चैसिति । स्वार्थी समाज । स्वार्थ बाझिएसि खेल खत्तम । जीवन संगिनी बनेकी स्वास्नीले त आफ्नो स्वार्थ पुरा नभएसि रैंतालो मच्चाउँछे । अरूको त के कुरा भो र ।

तीसबर्षे शिक्षणावधिमा बग्रेल्ती द्रोणाचार्य÷शुक्राचार्य र एकलव्यहरू भेटिए । द्रोणाचार्य/शुक्राचार्यहरूसित गुनासो मरु, विवेकहीन एकलव्यहरूसित चैं रहलपहल गथासा छ है । मैले चाहेको विवेकशील तर कोही कोही चैं विवेकहीन निस्किए । स्याहार पुर्याउन नसक्नाले बाली बिग्र्यो भनेर चित्त बुझाएको छु । तथाकथित केही एकलव्यहरू मनुजताहीन हुनु अपवाद चैं हैन है । तीनआँख्ले, ध्रुवतारा र सप्तर्षि यथास्थानमा, मर्त्यलोकमा हाहाकार/चित्कार । मनुष्यलाई हजार वर्ष आयु दिया भे के बिग्रन्थ्यो र ? भगवानले के बिघ्न पक्षपात गरेका ?! श्रीकृष्ण र कृष्णमा अल्प भिन्नता । श्रीकृष्ण जपेगा त मोक्ष मिलेगा ।

चञ्चल मन । अर्काकी श्रीमती राम्री लागे घरबार भत्किन्छ । आफ्नी सुवासिनी सह्राए स्वर्ग देखिँदो । नौल्याइँ छैन । कलस्यौली मड्यौली छु मन्तर । छेपारे प्रवृति । गोराको लोभलाग्दो जागिर त्यागेर घनघस्याको उकालो–कटुवा राष्ट्रवादी ।

मैले आफ्नो जीवनकालमा बग्रेल्ती मनुवाहरू देखें, भोगें । कोही पनि मनुष्य सर्वगुण सम्पन्न हुन्न । सुकरात, अफलातुन, अरस्तु, सिकन्दर, मण्डेला, विश्वेश्वरादि दोषमुक्त रहेनन् । केही गुन केही बैगुन । लालबुझक्कडहरू भौंजा । आफ्नो नेता सोह्रै आना ठीक पराईको राजनेता बत्तीस आना बेठीक । टाँगेर घोडा । चुनावपिच्छे नेताले जनता झुक्याउँदो । विदेशी अगुवा भन्दा स्वदेशी राजनेता महत्तम । पद नपाउञ्जेल ठूलो कुरा गर्ने कुर्सी पाएसि अनियमितामा माहिर । नयाँ नेपाल÷समृद्ध नेपाल बनाउने जोगीहरू धेरै आए, धेरै गए । नेपालको विकास जहींकोतहीं । मुलुकको नैतिक, सामाजिक, आर्थिक, भौतिक र मनोवैज्ञानिक विकास गर्नुपर्दा यी तथाकथित नयाँ बोतल पुरानो रक्सीले नबिटुलेका युवा पुस्ता निष्पक्ष ढंगले राजनीतिमा आउनुपर्छ ।

संस्कारले बानीबेहोरा सपार्ने । संस्कारिलो मनुष्य झुराइन्छ । दुई जना मान्छेहरू बात मार्दै गर्दा अनुमति बिना सरासर जानु मुर्खता । बोल्नु भन्दा बढी सुन्ने काम राम्रो । छिद्रान्वेषण नगर्दा ठीक । शिष्ट भाषाको प्रयोग अपरिहार्य । बत्तीस दन्त देखाएर खाना हसुर्नु कोर्कालीपन । चिया नसुर्काउनु सभ्यपन । क्रोध न्यूनतम, परोपकार अधिकतम । शान्त भावमा प्रवचन । अधिकस्य प्रत्युत्पादक । गफिएर कुरा काट्नु निरर्थक बरु सेवा बेस । मलाई नमस्कार गर्नु भन्दा कञ्चनजङ्घा चढ्न सहज लाग्छ । नमस्ते नपाउँदा फुत्तिने धेरै । दुई हाते भन्दा एकहाते नमस्कार उत्तम । अहम् ब्रम्हत्व । पृथ्वीनारायणले समय सापेक्षिक यथोचित कारवाही गरेकै हुन् । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।