नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन : पोखरेल

नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन : पोखरेल


‘प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिँड्नेहरू नै अहिले प्रतिगमनको बाटो हिँडिरहेका छन्’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्थासहितको नागरिकता विधेयक पारित गरेर सरकारले सही काम नगरेको आरोप लगाएका छन् । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उनले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको जिकिर गरे ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात वर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलाले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा असमान एवम् गलत भएको तर्क गरे ।

अर्को सन्दर्भमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरूले राष्ट्रिय स्वाभिमान गिराएको धारणा राखे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमणप्रति उनी लक्षित थिए । नेता पोखरेले भने– ‘प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिँड्नेहरू नै अहिले प्रतिगमनको बाटो हिँडिरहेका छन् ।’

केपी ओली नेतृत्वको सरकार हुँदा मुलुकमा शोधनान्तर स्थिति राम्रो अवस्थामा रहेको, विदेशी मुद्राको सञ्चिति ११ महिनाको बस्तु आयात धान्न सक्ने अवस्थामा रहेको भन्दै उनले अहिले शोधनान्तर स्थिति कमजोर भएको, बस्तु आयात गर्न विदेशी मुद्राको सञ्चिति केवल ६ महिनालाई मात्र पुग्ने अवस्थामा झरेको भन्दै अर्थव्यवस्थालाई कमजोर बनाइएको धारणा राखे । वर्तमान गठवन्धनले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक अवस्था कोभिडकालमा भन्दा कमजोर भएको उनको विश्लेषण थियो ।

केशरजंग रायमाझी गद्दार हुन् भन्ने विषयमा सवैको एकमत रहेको स्मरण गर्दै नेपाली काङ्ग्रेससँग संघर्ष गर्नुपर्नेहरू नेपाली काङ्ग्रेससँग नै मिल्न जाँदा त्यो गद्दारी हो वा होइन भनेर उनले प्रश्न तेर्स्याए ।

स्थानीय तहको निर्वाचनको परिणामले सांगठनिक अराजकता र दक्षिणपन्थी अवसरवाद नेकपा एमालेमा पनि केही मात्रामा भए पनि देखिएको भन्दै त्यसलाई आगामी निर्वाचनमा निमिट्यान्न पार्नुपर्ने महासचिव पोखरेलको भनाइ थियो । नेपालको राजनीति सही बाटोमा नरहेको भन्दै उनले तीनवटा ठूला राजनीतिक परिवर्तनपछि पनि अवस्था नेकपा एमालेले चाहेजसरी सही ठाउँमा आइनपुगेको धारणा राखे । नेकपालाई बलियो पार्टी बनाउन खोजिए पनि त्यो केवल मोर्चा जस्तो मात्र बनेको र मोर्चाले विश्वका कुनै पनि देशमा परिवर्तन नभएको विचार प्रकट गरे ।