अमेरिकी सेनाको नेपाल आगमनलाई कानूनी आधार तयार गर्ने उद्देश्यका निम्ति हुने भनिएको सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा हुने जानकारी सम्वद्ध सूत्रबाट प्राप्त भएको छ ।
गत असारमै गर्ने अन्तिम तयारीमा रहेको एसपीपी सम्झौताको प्रस्तावित दस्तावेज सार्वजनिक भएपछि देउवा–प्रचण्ड सरकार निकै अप्ठ्यारोमा परेको थियो । उक्त प्रस्तावको चौतर्फी विरोध भएपछि मन्त्रिमण्डलको बैठकले एसपीपी सम्झौताको प्रस्ताव अस्वीकार गर्ने निर्णय लिएको बताइए पनि सरकारले पत्राचार गरेर अमेरिकालाई सोको जानकारी गराएको छैन । र, त्यसरी पत्राचार गर्ने सम्भावना पनि नरहेको एकथरी विज्ञहरूको भनाइ छ । बरु एसपीपी या त्यसको शीर्षक बदलेर त्यसअनुरुपकै सम्झौता गर्ने तयारी भइरहेको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको सतहत्तरौँ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो एउटा जम्बो टोलीसहित अमेरिका जाँदैछन् । सोही अवसरमा एसपीपी सम्झौतामा दस्तखत गर्ने योजना बनेको बताइएको छ । एसपीपी नाममै सम्झौता गर्दा उत्पन्न हुन सक्ने चर्को विरोध र प्रतिक्रियालाई दृष्टिगत गरी प्रस्तावित सम्झौताको शीर्षकलगायत कतिपय अन्तरवस्तु परिवर्तन गरेर भए पनि सम्झौता गरिने सम्वद्ध पक्षको दाबी छ ।
शेरबहादुर देउवाबाट त्यसरी सम्झौता हुन सक्ने देखिएपछि सत्तागठबन्धनका साझेदार दलहरू सशङ्कित र चिन्तित बनेका छन् । खासगरी माओवादी र समाजवादी दलहरूभित्र देउवाको अमेरिका भ्रमण र एसपीपी सम्झौताको विषयलाई लिएर चर्को बहस शुरु भएको छ । देउवालाई प्रधानमन्त्री पदबाट मूक्त गरेर भए पनि उक्त सम्झौतालाई रोक्नुपर्ने वामपन्थी युवा नेताहरूको भनाइ छ । गठबन्धन भत्काएर भए पनि देशको हितप्रतिकुल हुन सक्ने सम्झौता रोक्नुपर्छ भन्दै माओवादी पार्टीभित्र प्रचण्डमाथि तीव्र दबाब पैदा गरिरहेका छन् ।
प्रतिक्रिया