भियतनामको चार्टर्ड विमान पर्किङका लागि आयो भैरहवा

भियतनामको चार्टर्ड विमान पर्किङका लागि आयो भैरहवा


  • मोहम्मद हबिब, भैरहवा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौं हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो ।

व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडौंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडौं जानेछ । काठमाडौं हुँदै पुन: भियतनाम फर्कने विमानको उडान तालिका छ । विमानमा दुई सेट प्राविधिक छन् ।

यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

२८ वैशाखमा भारतीय सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भैरहवा आएको थियो । २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले सातााको तीन उडान गर्दै आए पनि अन्य उडान भने हुन सकेको छैन । अन्य एयर कम्पनीहरूले चासो देखाए पनि उडान भने सुरु गर्न सकेका छैनन् ।