- डम्बर निदाल, डडेल्धुरा
आगामी संसदिय निर्वाचनका लागि गुल्मीका युवा सागर ढकालले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
करिव पाँच वर्षअगाडि प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै प्रश्न गरेका ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् ।
बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनमार्फत कुरा गर्दै ढकालले आफू प्रधानमन्त्री शेरबहादुर देउवाको विरुद्धमा उम्मेदवारी दिन आएको नभइ राष्ट्रनिर्माणको ऐजेण्डा बोकेर चुनौती खोज्दै डडेल्धुरा पुगेको बताए । पाँच वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर ढकाल चर्चामा आएका थिए ।
डडेल्धुरामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले अब मुलुक हाँक्न ४० वर्षमुनिका युवा आवश्यक रहेको धारणा राखे । संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रममा ‘युवाहरूको प्रत्यक्ष नेतृत्व, बुबाआमाको सल्लाह, हजुरबुबा-हजुरआमाहरूलाई स-सम्मान पूर्ण आराम’ भन्ने नाराका साथ विकाससँगै वातावरण, संस्कार र संस्कृतिको जगेर्ना गर्न नेपाली युवाहरूले देशैभर प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पनि उनले घोषणा गरे ।
आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको ढकालले बताए । जसमा, वातावरण विकास सँगसँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुबाआमाबाट सल्लाह, हजुरबुबा-हजुरआमाहरूलाई स-सम्मान आराम र विकास अनि संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् । शेरबहादुर देउवालाई आराम दिन आएको उनले बताए । यसैगरी केपी शर्मा ओली, प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउने अभियान शुरु गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लामा किन र कसरी चुनाव लड्ने आँट गर्नुभयो भन्ने जिज्ञासामा सागरले निर्वाचन लडन् सबैभन्दा बढी कठिन क्षेत्र प्रधानमन्त्रीको गृहजिल्ला हुन सक्छ भनेर चयन गरिएको र डडेल्धुराका जागरुक तथा सचेत नागरिकको साथ–सहयोग र समर्थन एवं विश्वास जित्नका लागि आफू डडेल्धुरा आएको तर्क उनले गरे ।
२०७४को स्थानीय तह निर्वाचनपछि चौथो पटक प्रधानमन्त्री भएकै बेला एक टेलिभिजन कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयको प्रसङ्गमा सागर ढकाललाई हपारेपछि उनी बेलायतको अक्सफोर्ड विश्ववविद्यालयमा हाइड्रो पावर इन्जिनियरिङ स्नातकोत्तर पढेर भर्खरै मात्र नेपाल आइ आगामी निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिने भन्दै बुधबार डडेल्धुरा पुगेका थिए । बिहीबार उनले पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका हुन । निर्वाचनको मिति घोषणा नभए पनि उनि आगामी निर्वाचनसम्म डडेल्धुरामै बस्ने र जिल्लाको पूरै भुगोल, पालिका र स्थानीय जनस्तर तहसम्म पुगेर जानकारी बटुल्ने योजनामा लाग्ने जनाएका छन् ।
प्रतिक्रिया