शान्ति

शान्ति


  • रुक्मिणी अमात्य

शान्ति तिमी ज्योति बनी सबैको
मस्तिष्क भित्र घुसी देउ ।
स्वार्थको भावनालाई तिमी
सदाको लागि टाढा फ्याँकी देउ ।

तिम्रो खोजीमा कतिले यहाँ
रगतको खोला बगाइ सके ।
कतिले त विचलित भइ
विपरित दिशा रोजिसके ।

आफू आफूमै यहाँ
आफ्नोपन हराइ सके ।
बिन्ती छ तिमीलाई हाम्रो
सबैको मनमा छाइदेउ ।

चौबाटोमा नअल्मलाइ
सत्यको बाटो देखाइदेउ ।
धमिलिएका ती आँखाहरूलाई
तेज बनि शक्ति देउ ।

त्याग र तपस्याको भावना जगाइ
शान्तिको बाटो अँगाल्न देउ ।
पीडित अवस्थाको आँसुको धारालाई
तिमी आई पुछिदेउ ।

बिन्ती छ शान्ति तिमीलाई
हाम्रो मुटुभित्र बसिदेउ ।
रतिभर ढिलासुस्ती नगरी
हामीलाई खुशी दिलाइदेउ ।

  • हाल बेल्जियम