मर्स्याङ्दी जलविद्युत्को उत्पादन पूर्ण क्षमतामा

मर्स्याङ्दी जलविद्युत्को उत्पादन पूर्ण क्षमतामा


  • रासस

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो ।

यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ‘यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ’, उहाँले भन्नुभयो ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुक्खा याममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनामा पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा आयोजनाबाट ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।