‘प्रेम गीत-३’ले फहरायो सफलताको ध्वजा !

‘प्रेम गीत-३’ले फहरायो सफलताको ध्वजा !


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

गरे के हुन्न ? चाहिन्छ त केवल त्यो विधा वा क्षेत्रप्रतिको लगाव, निरन्तरता अनि इमान्दारिता । मनदेखि लागियो भने आफ्नो उद्देश्यमा पुग्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेका छन् चलचित्र ‘प्रेम गीत-३’ का निर्माता सन्तोष सेनले ।

नेपाली चलचित्रलाई विश्वमाझ पुऱ्याउने सन्तोषको निरन्तरको जिकिरलाई ‘हावा गफ’ ठानेर उनको मनोबल गिराउनेहरू अहिले उनको प्रशंसा गरेर थाकेका छैनन् । जसरी भारतीय चलचित्रहरू विश्वभर एकसाथ रिलिज हुन्छ, नेपाली चलचित्रको ढोका पनि म त्यसैगरी खोल्छु भनेर लागि परेका सन्तोषलाई अहिले अरुले इर्ष्या गर्नुपर्ने कोटीको सफलता हात लागेको छ ।

एउटा नेपाली चलचित्रले विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग मानिएको भारतीय चलचित्र उद्योगमा समानान्तर उपस्थिति जनाउनु भारतीय वितरकले एक साथ विश्वभरी रिलिज गर्न कटिवद्धता जनाउँदै प्रचारप्रसार गर्नुले अब प्रेम गीत-३ का कारण नेपाली चलचित्रले विश्व चलचित्र बजारमा शान र मानका साथ झण्डा फहरायो भन्दा फरक अतिरञ्जना नठहरिएला ।

प्रेम गीत-३ को प्रचारप्रसार यतिबेला भारतमा धमाकापूर्ण रूपले भइहेको छ भने योसँगै अमेरिका, यूरोप र अष्ट्रेलियाका हलहरूमा पनि रेगुलर शो हुने भएको छ । यो चलचित्र सेप्टेम्बर २३ देखी विश्वभर एकसाथ प्रदर्शनमा आउने भएको छ । यतिबेला विश्व चलचित्रको असी प्रतिशत भन्दा बढी बजार हिन्दीभाषाको चलचित्रले ओगटेको समयमा त्यो भाषामा प्रेम गीत-३ ले विश्वमाझ आफ्नो शानदार उपस्थिति जनाएको दिन समग्र नेपाली चलचित्र उद्योगको लागि ऐतिहासिक दिन हो भन्दा फरक नपर्ला ।

भारतलगायत अन्य मूलुकका हलहरूले पनि यो चलचित्रको प्रचार शुरू गरिसकेका छन् भने चर्चित भारतीय चलचित्र समीक्षक तरुण आदर्शले यो चलचित्रको बारेमा खुलेर गरेको प्रशंसा र वाहवाहीले पनि यति बेला एक प्रकारको भुइँचालो नै ल्याएको छ । आदर्श भारतीय चलचित्र बजारका यस्ता समीक्षक हुन् जसले समीक्षा गरेको चलचित्र आजसम्म फेल खाएको छैन ।

सन्तोषले चलचित्र प्रेम गीत-३ मार्फत नेपाली सिनेमाको बजार बिस्तार मात्र गरेका छैनन्, उनले नेपालबाट पनि यतिसम्मको चलचित्र बन्न सक्छ भन्ने मानक पनि स्थापित गरिदिएका छन् । नेपाली चलचित्रको नाममा प्रेम गीत-३ ले मारेको यो छलाङ, देखाएको यो शान, विश्वमाझ जनाएको उपस्थिति र गर्जनप्रति समग्र नेपाली चलचित्र क्षेत्रले गौरव गर्नैपर्छ ।