जनतालाई विकल्प : रोगले मर्ने कि भोकले ?

जनतालाई विकल्प : रोगले मर्ने कि भोकले ?


  • कृषा केसी, भक्तपुर

काठमाडौंंलगायत उपत्यकाभन्दा बाहिर जिल्लामा केही दिनयता कोरोनाका बिरामी ह्वात्तै बढेका छन्, तर छिमेकी देशबाट नेपाल भित्रिने नाकामा सरकारले अहिलेसम्म कुनै कडाइ गरेको छैन । विभिन्न मुलुकबाट हवाइजहाजमार्फत आउने यात्रुको कोरोना जाँच सरकारले नगर्ने भएकाले पछिल्लो समय नेपालमा कोरोनाका बिरामी धेरै नै बढेका हुन् । त्यस्तै लामो रोडमा चल्ने सवारीसाधनमा यात्रा गर्ने यात्रुको पनि कुनै जाँच नगरिँदा सङ्क्रमण फैलाउन मद्दत पुगिरहेको छ ।

पछिल्लो समयमा जस्ता हेऱ्यो त्यतै मानिसको भिड मात्र देखिन्छ । सीडीओ कार्यालयदेखि लिएर यातायात तथा मालपोत कार्यालयहरूमा पनि त्यस्तै भिड रहेको छ । बैंक फाइनान्स र सहकारी डुब्ने बेला भयो भन्दे बचत रकम निकाल्ने मानिसहरुको भिड उत्तिकै देखिन्छ । श्रावणको महिना मठ-मन्दिरहरूमा पूजा गर्न जानेको भीड उत्तिकै छ । सिनेमा हल, व्यापारिक मल, डान्स रेष्टुरेन्ट, पार्टी प्यालेस जताततै भीड लागेको देखिन्छ, देखिँदैन त केवल सरकारका अनुगमनकारी निकाय ।

अहिले पनि सार्वजनिक सवारी साधनहरूमा सिटभन्दा बढी यात्रु राखेर चलाइरहेको पाइन्छ । फुटपाथमा व्यापार गर्नेहरू पनि उत्तिकै छन् । पैदलयात्रीहरू मास्क नलगाइ निस्फिक्री हिँड्छन् । कोरोना नियन्त्रणका लागि बनाइएको विगतका मापदण्ड सबैले पोलेर खाइसके । यस्तै हो भने एक झड्का फेरि कोरोनाले नेपाली समाजलाई अस्तव्यस्त पार्ने नै छ ।

स्वास्थ्य मन्त्रालयले लकडाउन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा अब लगिहाल्दा हुन्छ । उपत्यकाको तीन जिल्लाका मेयरहरू, सिडिओहरू बैठक बसेर उपत्यका भित्रिने नाकाहरू बन्द गर्न निर्देशन जारी गरे हुन्छ, अन्यथा महामारीले सोत्तर पार्न बेर लाउँदैन । बेलैमा सबैलाई चेत पुगोस् ।

हुन त जनताको नियति लकडाउन नगरे रोगले मर्ने, गरेमा भोकले मर्ने नै हो । जताबाट पनि मर्नैपर्ने भएपछि कसरी मरियो भन्ने सवालले खास के अर्थ राख्ला र ?