- सुनिल उलक

सबै पुलहरू विशेषता बोकेका हुँदैनन् । तर कुनै-कुनै पुल भने विश्वमा नै विशेष रूपले चिनिने हुन्छन् । देशले गणतन्त्र पाएपछि कतिपय राजारानीका शालिक नवगणतन्त्रवादीको निशानामा परे पनि एउटा दुर्गम गाउँमा भने एउटा काठे पुलमा राजारानीको शालिक ठिङ्ग उभिएको छ । यो पुलमा राजारानीको काठको शालिक मात्र होइन राजारानीलाई सुरक्षा दिने सुरक्षाकर्मीको पनि शालिक बनाइएको छ । शायद यिनै सुरक्षाकर्मीको सुरक्षाले होला गणतन्त्रको आगमनले देशका बिभिन्न क्षेत्रका राजारानीका शालिक ध्वस्त भएपनि यि शालिक भने ध्वस्त हुन पाएनन् ।
जुम्ला जिल्लाको पश्चिममा रहेको हिमा गाउँपालिकामा रहेको तिला नदीमा रहेको पुलमा राजारानीको मुर्ति कुँदिएको छ । हिमा गाउँपालिका गठनपूर्व यो ठाउँ महावैपाथरखोला गाविसमा रहेको थियो । हुन त जुम्लाका पुलहरूमा काष्ठकलाका नमुना प्रायः भेटिन्छ । यहाँ पुलहरूमा मात्र होइन घरका लिस्नोहरूमा पनि काठका कला देख्न सकिन्छ । जुम्लाको विशेषता नै काष्ठकलामा देख्न सक्छौँ । प्राचिन मुर्तिहरू पनि काष्ठकलाका नमुनाको रूपमा देख्न पाइन्छ ।
जुम्लाको हिमा नदीमा रहेको यो काठेसाँघु चिउँडी साँघुको रूपमा प्रख्यात थियो । महाबैपाथरखोला गाउँबाट रारालिही गाउँ जोड्ने सडकमा रहेको यो साँघु चिउँडीमा रहेको हुँदा चिउडी साँघु भनिन्थ्यो । २०५७ सालको फागुनमा गाउँलेको भेलाले यस साँघुमा केही विशेषता झल्काउने उद्देश्यस्वरुपमा राजारानीको काठको मुर्ति बनाउने निर्णय भएको थियो ।
फागुनमा निर्णय भएपछि स्थानीय कालीबहादुर तिरुवाले मुर्ति बनाउने जिम्मा पाए । एकातर्फ काँचो काठमा मुर्ति कुँद्नु निकै कठिन कार्य थियो भने अर्कोतर्फ माओवादी आन्दोलनको उत्कर्षमा राजारानीको मुर्ति बनाउने आँट गर्नु मुख्र्याइँ पनि थियो । चार महिना लाग्यो सगोल मुर्ति तैयार पार्न । राजारानी तथा सुरक्षाकर्मीसहितको मुर्ति तैयार हुँदा २०५८ सालको जेठ महिना भयो । पुलमा शालिक ठड्याउने निर्णय भएपछि सबै तैयारीतर्फ लागे । यही समय माओवादीको २०–२५ जनाको समुह तिरुवाको घर आइपुग्यो ।
आरन चलाउने कामी, काली तिरुवाले गाउँमा आवश्यक सबै मुर्ति बनाउथे । भुन्यादेउता, लाटीबजु, मर्काट्टा सबै बनाउँथे । यहाँ राजारानीको मुर्ति पनि सबैका चाहनाले बनाएका थिए । माओवादीको समुहले काली तिरुवालाई समाएर लग्यो । उनलाई कमाण्डर सामु लगेर निकै सोधपुछ गरियो । जनकारवाही गरिने भन्दै लगिए पनि अन्तमा हाम्रो सत्ता आएपछि हाम्रो काम पनि गरिदिनुपर्छ भन्दै छोडिदिए । उनलाई कुनै कारवाही गरिएन ।
यता राजारानी तथा सुरक्षाकर्मीको मुर्ती पुलमा राख्ने तैयारी हुदै थियो । उता राजधानीमा राजपरिवारको हत्या भयो । राजारानीको हत्या भए पनि गाउँलेले राजारानीको शालिक राख्ने नै निधो गरे । तिरुवाको कला ठडियो । राजधानीमा ढलेका राजारानी चिउडी साँघुमा ठडिए । राजारानीप्रतिको आस्था चिउँडीका गाउँलेमा अझ बढी भयो । वास्तविक राजारानीले संसार छोडेर गए तर चिउडीका राजारानी सधैका लागि ठडिए ।
यहाँ प्रस्तुत तस्बिरमा पुल पुरानै भए पनि यसमा राखिएको काठको मुर्तिहरू मात्र नयाँ हुन् । यि मुर्तिहरू २०५८ सालमा राखिएका हुन् ।
लुक्लानजिकैको छाना भएको पुल

छाना भएको पुल निकै कम भेटिन्छ । खासगरी छाना भएको पुल बनाउनुको कारण काठबाट बनेका पुलहरूलाई बढी टिकाउ बनाउनको लागी हो । काठबाट बनेका पुलहरू बढी वर्षात् हुने तथा हिँउ पर्ने ठाउँमा घामपानी तथा हिउँ सहनु पर्दा छिटो मक्किने तथा कुहिने भइ भाँचिने सम्भावना हुन्छ । काठको आयु बढाउन घामपानीबाट जोगाउनु पर्दछ । यदि घामपानीबाट काठ जोगियो भने काठको आयु १०औ गुना बढी हुन्छ । यदि काठका पुलहरूलाई खुला छोडिदिने हो भने घामपानीले यस पुलको आयु २०–३० वर्ष मात्र हुने गर्दछ । तर त्यही पुललाई यदि छाना राखि बनाइयो भने त्यस्ता पुलहरूको आयु सय वर्ष भन्दा बढी हुने गर्दछ । यसैले पनि बढी वर्षात् हुने ठाउँहरूमा पुललाई छाना राखेर बनाउने गरिन्थ्यो । तर यस किसिमको छाना राखेर बनाइएको पुल नेपालमा भने बिरलै पाइन्छ ।
विश्वमा यस किसिमको छाना भएको पुल अत्यधिक भेटिन्छ । अहिलेसम्ममा सबैभन्दा पुरानो छाना भएको पुल स्विट्जरल्याण्डमा रहेको पुल हो । यो सन् १३६५ मा बनेको थियो । करिव ७०० वर्ष पछि सन १९९३ मा आगलागीबाट यो पुल ध्वस्त भए पछि सन् १९९४ मा पूननिर्माण गरिएको थियो । यस किसिमको छाना भएको पुल यूरोप तथा अमेरिकामा अठारौँ शताव्दीमा सबैभन्दा बढी बनेको देखिन्छ । सन् १७८६ मा जर्मनमा बनेको एउटा छाना भएको काठेपुलमा अझै पनि गाडी गुड्ने गर्दछ ।
नेपालमा भने कतिवटा छाना भएका पुलहरू थिए भन्ने यकिन तथ्य भेटिँदैन । तर केही छाना भएका काठेपुलको तस्बिर मसँग छ । जसमा पुरानो फोटो लुक्ला र इलामको छ भने अर्कोको मिति थाहा भएन । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा लुक्लाबाट नाम्चे जाने बाटोमा दुधकोशी नदीमाथि रहेको छाना भएको पुल धेरै अगाडि बनेको देखिन्छ भने अर्को पुरानो इलामको छ । पश्चिम नेपालको खवाङ बगरबाट पूर्वी रुकुम जाने बेलामा खवाङ खोलामाथि बनेको पुल छ, जुन खासै पुरानो जस्तो देखिँदैन ।
यहाँ राखिएको तस्बिरमा देखाइएको पुल लुक्लाबाट सगरमाथा हिमालको फेदीनजिकैको नाम्चेबजारतर्फ जाँदा बाटोमा पर्ने दुधकोशीमाथिको पुल हो । यस पुलको विशेषता भन्नु नै यो पुलमा छाना लगाइएको हो । दुर्गम स्थलमा सिमेन्ट वा फलामका तार र पाताले बनाइएका पुल हुँदैनथे । यी सामग्री बोकेर लैजान कठिनाइ हुने तथा त्यति सुलभ पनि नहुने हुँदा पुल बनाउँदा स्थानीय स्तरमा पाइने अत्यधिक काठको नै प्रयोग हुने गर्दथ्यो । तर यसरी प्रयोग हुने काठ घामपानीको झेल्नुपर्दा केही वर्षमा नै काठ कुहेर फेरि नयाँ पुल बनाउनुपर्ने बाध्यता हुन्थ्यो । यसले गर्दा पनि दुईपाते छाना राखेर पुल बनाइएको थियो ।
छाना राख्नुको दोश्रो कारण यो क्षेत्रमा पर्ने हिँउको कारणले पनि हुन सक्छ । यदि हिँउ पुलमाथि जमेर तौल अत्यधिक भएमा पुल भाँच्चिने सम्भावना हुन्थ्यो । पुलमाथि दुर्वतर्फ भिरालो बनाइएको दुईपाते छानाका कारण पुलमाथि हिँउ पर्दैनथ्यो । जसले गर्दा पुल भाँच्चिने सम्भावनाबाट पनि जोगिन्थ्यो ।
सगरमाथा बेसक्याम्प जाने बाटोमा दुधकोशी नदीलाई ४-५ पटक पार गर्नुपर्छ । तसर्थ यो पुल कुन ठाँउको हो यकीन भएन । धेरैवटा झोलुङ्गे पुलहरू बनेका छन् । यहाँ बनेको झोलुङ्गे पुलहरूमा सबैभन्दा लामो हिलारी ब्रिज छ ।
प्रतिक्रिया