वैकल्पिक शिक्षाको अभियन्ता सुर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईनिकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो ।
भट्टराई जसपाबाट अलग हुनुअगाडि राई जसपाका केन्द्रीय सदस्य थिए । तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडे पनि समावेसी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनितीको यात्रा भने जारी राख्ने राईले बताएका छन् ।
राईले वैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए । ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर वैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा वैकल्पिक राजनीतिको गन्तव्य ठिक ढंगले अगाडि बढेन । यस अभियानमा पनि वैचारिक तथा ब्यवहारिक विचलन देखियो । वैकल्पिक सोच नै विघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा वैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्धाकै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मुल मुद्धाहरु समावेसी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीति यात्राबाट कत्ति पनि विचलित भएको छुइनँ ।’
राईले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविज्ञ राईले शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् । यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।
प्रतिक्रिया