मुलुकको दूरावस्थाबाट जर्जियाका जनता आजित थिए, नेतालाई गाली गर्थे तर निर्वाचनमा मत किनबेच हुँदा भोटचाहिँ फेरि तिनै नेताले पाउँथे । जर्जियाको त्यतिबेलाको अवस्थाको अध्ययन गर्दा हामी त्याहाँसम्म पुगिसकेका छैनौँ तर करिव-करिव पुग्ने चरणमा छौँ ।
- बबिता बस्नेत
अहिले हाम्रो देशका विभिन्न क्षेत्रमा देखिएका बेथिति र अनियमितता देखेर, सुनेर, पढेर, भोगर हामीमध्ये धेरैलाई अब यो देशमा भ्रष्टाचार नियन्त्रण सम्भव छैन भन्ने लागिरहेको छ । न्यायालय, सरकारी कार्यालय, पालिकाहरू, स्वास्थ्य क्षेत्र, शिक्षा सजिलो गरी सर्वसाधारणको काम हुने ठाउँ कहीँ-कतै छैन । जनताको सहजताका लागि बनाइएका नीति–नियमहरू सर्वसाधारण नागरिकलाई के गर्दा दुःख हुन्छ, के गर्दा ‘यो काम त हुन सक्दैन’ भन्न सकिन्छ, त्यसैमा प्रयोग हुने गरेका छन् । पाइलैपिच्छे पैसा खर्च नगरी न उद्योग खोल्न सकिन्छ न त कुनै ब्यवसाय गर्न नै ! पैसाको चलखेलबिना आफैंले किनेको जग्गा पास गर्नदेखि गाडीको नवीकरण गर्नसम्म सकिँदैन । सरकारी पद, राजनीतिक नियुक्ति, सरुवा, बढुवा पैसाबिना असम्भव झैँ हुन थालेको छ । आफूले राम्रो गरेको छ, रोलक्रममा अगाडि छु या मसँग भिजन छ, म गर्न सक्छु मात्रै भनेर कुनै संस्थाको प्रमुख हुन गाह्रो छ ।
पैसा खर्च नगरी न्याय पाएका मुद्दाको सङ्ख्या नगण्य छ । कुनै कारणवश अदालतमा मुद्दा परिहाल्यो भने त्यो मान्छेको सारा जिन्दगी न्यायलयमा तारिख धाउँदा बित्छ, तर मुद्दाको छिनोफानो हुँदैन । अदालतमा मुद्दा परेकै कारण मनमा तनाव बोकेर जिन्दगी बिताउनेको सङ्ख्या ठुलो छ । यो अवस्था कहिलेसम्म यस्तै रहला ? के हाम्रो देशमा भ्रष्टाचार नियन्त्रण सम्भव छ ? धेरै नेपालीको मनमा अहिले यो प्रश्नले ठाउँ लिएको छ ।
जनताले चाहेमा भ्रष्टाचार नियन्त्रण सम्भव छ भन्ने कुराको उदाहरण जर्जिया हो । विगतमा सोभियत सङ्घमा रहेको अहिले पूर्वी युरोपमा पर्ने सानो देश जर्जिया सन् २००२ सम्म अध्याधिक भ्रष्टाचार हुने मुलुकभित्र पर्थ्यो । बीबीसीका अनुसार सन् २००२ मा जर्जियाको राजधानी टिब्लिसीमा एउटा भब्य विवाहको निकै चर्चा भयो । हजारौँ डलर खर्च गरिएको त्यो विवाह एक प्रहरी अधिकारीको थियो । उक्त पदमा पुग्न उनले निकै ठुलो रकम बुझाएका थिए । उनको तलब महिनाको करिब १० डलर थियो । तलब १० डलर भए पनि आफ्नो जागिर बचाइराख्न उनले प्रहरी परिचालन गर्ने मन्त्रालयलाई सयौँ डलर घुस बुझाउनु पर्थ्यो । त्यसका लागि उनले कति भ्रष्टाचार गर्थे होलान्, अनुमान गर्न सकिन्छ ।
भ्रष्टाचारको असर सबैतिर परेको थियो । घण्टौँ लाडसेडिङ हुन्थ्यो । बिजुली बत्ति नहुँदा चिसो महिनामा हिमपात हुने ठाउँमा वृद्धवृृद्धा र बच्चाहरूको मृत्यु हुन्थ्यो । तर उर्जा मन्त्रालय निकै कमाइ हुने मन्त्रालयमा गनिन्थ्यो । उर्जा मन्त्रालयको मन्त्री हुन राजनीतिक दलका नेताहरू तँछाडमछाड गर्थे । कृषि मन्त्रालयमार्फत गहुँ र अन्नबाली बाहिर बेचिन्थ्यो, जनता पेटभरि खान पाउँदैनथे । सरकारी कार्मचारी घुस नलिइ कुनै काम गर्दैनथे । कर्मचारीको तलब धेरै थिएन तर उनीहरूको जीवनशैली रवाफिलो थियो । ठुलो रकम नबुझाइ विद्यार्थीले राम्रो युनिभर्सिटीमा भर्ना पाउँदैनथे । चिकित्सा शास्त्र पढ्न शिक्षामन्त्रीदेखि युनिभर्सिटीका ब्यवस्थापक हुँदै प्राध्यापकसम्मलाई पैसा बुझाउनु पर्थ्यो । पैसा नहुनेले राम्रो युनिभर्सिटी पढ्न पाउँदैनथे ।
हरेक क्षेत्रमा नयाँ प्रतिभाहरूले ठाउँ पाए जो मुलुकमा केही गर्न चाहन्थे । कुनैपनि जिम्मेवारी दिनुअघि उनीहरूलाई आफ्नो भिजन प्रस्तुत गर्न लगाइयो र नियुक्त गरियो ।
स्वास्थ्य क्षेत्रको अवस्था त्यस्तै थियो । स्वास्थ्य विभाग र अस्पतालहरू घुसका अड्डा थिए । औषधिलगायत जनताका सामान्य आवश्यकताका कुरामा राजनीतिकर्मीलाई कुनै वास्ता थिएन । नेता र कर्मचारीलाई ठुलो रकम बुझाएपछि अस्पताल खोल्न पाइन्थ्यो । मेडिकल माफियाहरूको यति दबदबा थियो कि असल मनसायका मानिसले अस्पताल सञ्चालन गर्ने बारेमा नसोचे पनि हुन्थ्यो । जसका कारण जनताको आधारभुत आवश्यकताभित्र पर्नुपर्ने स्वास्थ्य र शिक्षा निकै महँगो थियो । कुनै पनि राजनीतिक र सरकारी नियुक्तिहरू पैसाको चलखेलबिना हुँदैनथे । जे गर्न पनि पैसा खुवाउनु पर्थ्यो ।
सर्र्वसाधारणले भुक्तमान खेपेको अर्को ठाउँ सडक थियो, जहाँ ट्राफिक प्रहरीले विभिन्न बाहानामा पैसा उठाएरै छाड्थे । सडकमा गुडिरहेका सवारीसाधन रोकी लाइसेन्स माग्ने, कहिले परिचयपत्र माग्ने, वातावरण प्रदुषण जाँचेको मिलेन भन्ने, कुनै न कुनै बाहानामा दुःख दिने । प्रहरीचौकीसम्म पुग्नु पऱ्यो भने थप दुःख हुने भएकाले मानिसहरू प्रहरीले रोक्ने बित्तिकै पैसा दिएर उनीहरूबाट छुट्कारा पाउन चाहन्थे । न्यायलयहरू भ्रष्टाचारका अखडा थिए । पैसाबिना मुद्दाको फैसला हुँदैनथ्यो । भारी रकम बुझाएर न्यायधीशहरूको नियुक्ति हुन्थ्यो । पैसा तिर्न नसक्नेहरूको मुद्दा वर्षौंदेखि फैसला हुँदैनथ्यो ।
मुलुकको दूरावस्थाबाट जर्जियाका जनता आजित थिए, नेतालाई गाली गर्थे तर निर्वाचनमा मत किनबेच हुँदा भोटचाहिँ फेरि तिनै नेताले पाउँथे । जर्जियाको त्यतिबेलाको अवस्थाको अध्ययन गर्दा हामी त्याहाँसम्म पुगिसकेका छैनौँ तर करिव–करिव पुग्ने चरणमा छौँ । अहिले जर्जिया १ सय ८० देशको भ्रष्टाचारको इन्डेक्समा ४५ मा छ । सन् २००२ मा १ सय २ वटा देशमा यो ८५औँ स्थानमा थियो । जर्जिया अहिले भ्रष्टाचार अन्त्यको सवालमा ब्यापक सुधार हुँदै गएको मुलुकभित्र पर्छ । नेपाल अहिले भ्रष्टाचार हुने मुलुकको १ सय १७औँ स्थानमा छ । नेपालीहरूका लागि विश्वसामु यो निकै लज्जास्पद विषय हो । भ्रष्टाचार नियन्त्रणमा ठुलो फड्को मारेको जर्जियामा त्यस्तो के भयो जसका कारण भ्रष्टाचार घट्यो ?
फेरि पनि तिनै भ्रष्ट नेताहरूले पैसाको बलमा निर्वाचनमा तलमाथि गरेपछि चुनावमा भएको धाँधलीका विरुद्ध सन् २००३ मा जर्जियाका जनताहरू सकडमा ओर्लिए । सडक आन्दोलनको नेतृत्व एकपल्ट कानूनमन्त्री भइसकेका मिखाइल साकासवेलीले गरेका थिए । उनले आफू सांसद र मन्त्री हुँदा पनि भ्रष्टाचारको विरोध गर्दै आएका थिए । आफू मन्त्री भएको बेला क्याबिनेटमै पनि उनले भ्रष्टाचारविरुद्ध विद्रोह गरेका थिए । उनी भ्रष्टाचारमुक्त कानूनी शासन चाहन्थे तर त्यतिबेला उनको कुरा कार्यान्वयन हुने त के सुन्ने पनि मन्त्रिमण्डलमा कोही थिएन । उनको नेतृत्वमा भएको भ्रष्टाचार र बेथितिविरोधी आन्दोलनलाई जनताले साथ दिए । राजधानी टिब्लीसीमा २० दिनसम्म चलेको उक्त आन्दोलनलाई रोज रिभोलुसन (गुलाव क्रान्ति) भनिन्छ । यो आन्दोलनपछि भएको निर्वाचनमा उनको दलले ९६ प्रतिशत भोट पायो र उनी राष्ट्रपति बने ।
साकासवेली राष्ट्रपति भएपछि मन्त्री तथा अन्य विभिन्न विभागको नेतृत्वमा युवालाई नियुक्त गरियो जो त्यसअघिको शासनमा सहभागी थिएनन । नयाँ सरकारले बेथितिको पुनःसंरचना ट्राफिक प्रहरीबाट गऱ्यो । जसले आफ्नो जागिरको सुरुवातदेखि नै खुस खाए उनीहरूबाट सुशासन सम्भव नहुने ठानेर ट्राफिक प्रहरीको पूरै फोर्सलाई बर्खास्त गरियो । फोर्समा रहेका १६ हजार ट्राफिक प्रहरीको बर्खास्तीले सर्वसाधारणमा यो देशमा अब केही हुन्छ भन्ने राम्रो सन्देश गयो । ट्राफिक प्रहरीको सङ्ख्या घटाएर तलब बढाइयो । ट्राफिक प्रहरीमा आएका नयाँ युवाहरूमध्ये धेरैजसो महिला थिए । प्रहरीको आचारसंहिता बनाइयो जसमा कसैले भ्रष्टाचार गरेको पाइए कडा सजायको भागीदार हुनुपर्ने उल्लेख थियो ।
नयाँ सरकारले बेथितिको पुनःसंरचना ट्राफिक प्रहरीबाट गऱ्यो । जसले आफ्नो जागिरको सुरुवातदेखि नै खुस खाए उनीहरूबाट सुशासन सम्भव नहुने ठानेर ट्राफिक प्रहरीको पूरै फोर्सलाई बर्खास्त गरियो । फोर्समा रहेका १६ हजार ट्राफिक प्रहरीको बर्खास्तीले सर्वसाधारणमा यो देशमा अब केही हुन्छ भन्ने राम्रो सन्देश गयो ।
ट्राफिक प्रहरीपछि न्यायलयमा शुद्धिकरण गरियो । न्याय क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउनासाथ धेरै कुरा ठिक भएर आयो । कर्मचारी प्रशासनमा पनि ठुलो सङ्ख्यालाई अवकाश दिइ युवाहरू नियुक्त गरियो । युनिभर्सिटीका प्राध्यापकहरूलाई पनि कर्मचारीलाई जस्तै उपदान दिएर बिदा गरियो । हरेक क्षेत्रमा नयाँ प्रतिभाहरूले ठाउँ पाए जो मुलुकमा केही गर्न चाहन्थे । कुनैपनि जिम्मेवारी दिनुअघि उनीहरूलाई आफ्नो भिजन प्रस्तुत गर्न लगाइयो र नियुक्त गरियो ।
जर्जियामा भएको भ्रष्टाचारविरुद्धको यो क्रान्ति विश्वमै नमूना मानिन्छ । तथापि, साकासवेलीलाई पछि तानाशाह हुँदै गएको आरोप लाग्यो र दोश्रो कार्यकालपछि पनि आफै राष्ट्रपति हुन खोज्दा जनताले उनलाई हराए । चुनावमा पराजयपछि अमेरिकाको एउटा युनिभर्सिटीमा पढाउनेदेखि युक्रेनको नागरिकता लिनेसम्मको उनको कहानी उतारचढावपूर्ण छ । तर जे–जे भएपनि जर्जियालाई अहिलेको स्थानमा पुऱ्याउने श्रेय उनैलाई जान्छ । जर्जियामा अहिले गरिबी छ तर भ्रष्टाचार कम छ ।
नेपालमा पनि यस्तो क्रान्ति सम्भव छ । यो देशमा भ्रष्टाचार निर्मुल गर्छु भनेर कसैले इमान्दारीपूर्वक नेतृत्व गर्ने, समान धारणा राख्नेहरूको समूह बनाएर दूरदर्शी भिजनसहित कदम चाल्ने र जनताले साथ दिने हो भने हामीकहाँ पनि भ्रष्टाचार नियन्त्रण सम्भव छ । हामीकहाँ पनि त्यस्ता असल मानिसहरू छन् जसले यो देशलाई भ्रष्टाचाररहित बनाउन भूमिका निर्वाह गर्न सक्छन् । जनताले सचेतता अपनाउने हो भने जर्जियामा जस्तै निर्वाचनमार्फत नै यस्तो सम्भव छ ।
प्रतिक्रिया