केपीलाई हराउन एउटै चुनाव चिन्ह !

केपीलाई हराउन एउटै चुनाव चिन्ह !


सत्तारुढ पाँचदलीय गठबन्धन केपी शर्मा ओलीलाई सत्रु थापेर आगामी संसदीय निर्वाचनमा चुनावी एकता गर्दै अघि बढ्न कटिवद्ध भएका छन् । काङ्ग्रेसबाट कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगनबहादुर थापा तथा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मालगायत सबै पाँच समूहका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएर सत्ता-गठबन्धनले चुनावी एकतालाई अन्तिम टुङ्गोमा पुऱ्याउने गृहकार्य शुरु गरेको छ । कार्यदलको बैठकले चुनावी एकताका शर्त तथा आधारहरू बारे छलफल गरेको छ ।

प्राप्त जानकारीअनुसार गठबन्धनमा सम्मिलित जुन दलले जहाँ विजय प्राप्त गरेको (२०७४ मङ्सिरमा) थियो, ती निर्वाचन क्षेत्रहरू तिनै दलको भागमा राख्ने र एमाले विजयी बनेका क्षेत्रहरू सबैले भागबण्डा गरी लिने सहमति कार्यदलमा बनेको छ । गत संसदीय निर्वाचनमा काङ्ग्रेस २३, माओवादी ३७ र माधव नेपाल समूहले १४ स्थानमा विजय हाशील गरेको थियो । यसै आधारमा भागबण्डा हुँदा काङ्ग्रेसका भागमा ७५ देखि ८० निर्वाचन क्षेत्र पर्ने बुझिएको छ । तर काङ्ग्रेसले कुल १०० निर्वाचन क्षेत्र पाउने अपेक्षा गरेको छ ।

कार्यदलमा एउटै चुनाव चिन्ह लिएर चुनावमा जानु उपयुक्त हुने विषयमा पनि छलफल भएको जानकारी प्राप्त भएको छ । रुख चिन्हलाई सबैको साझा बनाउँदा काङ्ग्रेसमा हुने विद्रोह नियन्त्रित भइ गठबन्धनले झण्डै दुई तिहाइ स्थानमा विजय हाशील गर्न सक्ने भन्दै काङ्ग्रेस नेताहरूले कम्युनिष्ट प्रतिनिधिहरूलाई मनाउने कोशिस गरेको बुझिएको छ । तर यस सम्बन्धमा अन्तिम निर्णय भने भइसकेको छैन । निर्वाचन आयोगले एउटै चिन्हमा चुनाव लड्ने दलहरूले साउन मसान्तभित्र आयोगमा दर्ता भइसक्नुपर्ने सूचना जारी गरेको छ ।