सरकारले संसदीय निर्वाचनको घोषणा गरेलगत्तै गृहमन्त्रालयमा दलेको बिगबिगी बढेको छ । ०४६ सालको परिवर्तनपछि गृहमन्त्रालयमा बिचौलियाको बिगबिगी यस मात्रामा अहिलेसम्म बढेको नपाइएको गृहकै कर्मचारीहरू बताउँछन् । गृह मन्त्रालयअन्र्तगत पर्ने प्रहरी प्रशासनको सरुवा-बढुवामा यति धेरै मोलमोलाइ अहिलेसम्म चलेको थिएन । गृहमन्त्री बालकृष्ण खाणका राजनीतिक सल्लाहकार प्रमोद शर्मा नामक व्यक्ति अहिले पैसा उठाउने प्रमुख नाइके तोकिएका छन् । रेट तोक्ने कार्यमा खाणका स्वकीय सचिव नरेन्द्र केसी रहेका बुझिएको छ ।
चितवनको एक माध्यामिक विद्यालयमा प्रधानाध्यापक रहेका केसी यस्ता पात्र हुन् जो खाण जहिले-जहिले मन्त्री भएका छन् सधैं स्वकीय सचिव बनेका छन् । उनलाई सधैं स्वकीय सचिव बनाउनका पछाडि उनी पैसा उठाउनमा माहिर मानिन्छन् । पछिल्लो समय गृहमन्त्रालयले गरेको सरुवा बढुवामा कोटेशन बढाबढ भएको छ । चार महिनाअघि सरुवा गरिदने भनेर पेश्की लिएको एक एसपीको पैसा फर्काइएको छ । उनले भन्दा अर्काे एसपीले ठूलो रकम दिएपछि उक्त रकम फिर्ता गरिएको हो ।

त्यसैगरी केही दिनअघि ४३ डिएसपीको सरुवामा समेत व्यापक पैसा उठाइएको छ । काठमाडौंको आकर्षक मानिने एक वृत्तमा जानका लागि दुई महिनाअघि पेश्की दिएका डिएसपीलाई पैसा फर्काएर अर्कोबाट बढी रकम लिएर फर्काइएको हो । यो सबै कार्य मीनभवन क्याम्पसमा कार्यरत प्राध्यापक तथा गृहमन्त्री खाणका राजनीतिक सल्लाहकार प्रमोद शर्माले गर्दै आएका छन् । खाण मन्त्री हुँदा सधैं पिएसओ रहँदै आएका नेपाल प्रहरीका सई तेज सिलवाल अवकासप्राप्त भएर पनि प्रहरीसँग मोलमोलाई गर्न उनलाई सचिवालयमै राखिएको छ ।
प्रहरीको सरुवा-बढुवामा दशैंका खसीबोकाको जस्तै मोलमोलाइ देखेर प्रहरी संगठनका इमानदार र कर्तव्यनिष्ट अधिकृत आश्चर्यचकित परेका छन् ।
प्रतिक्रिया