सहकर्मीको अपमानपछि कार्की छुट्टीमा !
न्यायपरिषद्ले दुई दर्जनभन्दा बढी न्यायाधीश नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्यसनिम्ति उम्मेदवार बन्ने शर्तहरू निर्धारण गर्दा कामू प्रधानन्यायाधीश कार्कीले ईश्वर खतिवडाका छोरा उम्मेदवार बन्न नमिल्ने गरी मिलाएको र, सोही कुराले खतिवडालाई क्रुद्ध तुल्याएको एकथरीको भनाइ छ ।
नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीशहरूले आफ्नो सेवा निवृत्तिको समय नजिकिँदै जाँदा अपमान, उपेक्षा र पीडाको सामना गर्नुपर्ने परम्पराको शिकार का.मू. प्रधानन्यायाधीश दीपक कार्कीले पनि हुनुपरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोगको जालमा अल्झाएर निलम्बन गरिएयता दीपक कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्दै आएका थिए । एक दिनका लागि भए पनि प्रधानन्यायाधीश बन्ने सपना साँचेर बसेका कार्कीलाई सत्ता–गठबन्धनका नेताहरूले प्रधानन्यायाधीश बनाइदिने वचन दिएका पनि हुन् । आफू अवकाश हुनुअघि प्रधानन्यायाधीश बनाइने आश्वासन कार्कीले चोलेन्द्र शमशेरबाट पनि पाएका थिए ।
तर अहिले सत्ता गठबन्धनका नेताहरूबाट केपी शर्मा ओलीको कार्यकालमा भएका बाउन्न (५२) संवैधानिक नियुक्ति खारेज गरिदिनुपर्ने शर्त राखिएपछि दीपक कार्की गत महिनादेखि निकै दबाब र तनावमा थिए । सत्तापक्षको इच्छा पूरा नगरिकन आफूलाई प्रधानन्यायाधीश नबनाइने स्थिति एकतिर रहेको र, इच्छा पूरा गरिदिँदा आफ्नाविरुद्ध प्रमुख प्रतिपक्षले महाभियोग प्रस्ताव ल्याउन सक्ने अवस्था भएकोले कार्की ठूलो दबाब र तनावमा थिए । त्यसैबीच कार्कीले सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा भएको भ्रष्टाचार र अनियमितताबारे छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक पत्रमार्फत् जिम्मेवारी दिए । कार्कीको मानमर्दन गर्ने निहुँ खोजेर बसिरहेकाहरूले यसै घटनालाई आधार बनाएर कार्यकक्षमै उनको बेइज्जत गरिदिएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।
समाचारअनुसार गत साताको मङ्गलबार ईश्वर खतिवडाको विशेष आग्रहमा सर्वोच्चका सबैजसो न्यायाधीशहरू अनायासै कामू प्रधानन्यायाधीश दीपक कार्कीको कार्यकक्षमा पुगे । न्यायाधीश भएर पनि इमानदार मानिने सीमितमध्ये एक ईश्वर खतिवडाले भवन निर्माणसम्बन्धी विषयको छानवीन गर्ने जिम्मेवारी अख्तियारलाई दिएर गम्भीर गल्ती गरेको भन्दै उक्त विषयको छिनोफानो संवैधानिक इजलाशबाट गर्नु उपयुक्त हुन्थ्यो भन्ने धारणा प्रकट गरे । कार्कीप्रति ईश्वर अलिक कठोर शैलीमा प्रस्तुत भएपछि कार्कीले प्रतिवाद गर्ने कोशिस मात्र के गरेका थिए, खतिवडाले आफूलाई नियन्त्रण गर्न सकेनन् । उनले जानेका जति गालीका सबै शब्दहरू प्रयोग गर्दै दीपकमाथि जाइलाग्ने स्थिति बनेपछि विश्वम्भर श्रेष्ठ अगाडि सरेर दुवै पक्षलाई साम्य बनाउनु परेको थियो । त्यस असामान्य घटनामा अन्य न्यायाधीशहरू मौन बसे पनि सपना मल्लले चाहिँ ईश्वर खतिवडाको कुरामा सहमति जनाउँदै ‘संवैधानिक इजलासको बैठक बोलाएको भए उपयुक्त हुन्थ्यो’ भन्ने धारणा प्रकट गरेकी थिइन् ।
त्यसो त कार्कीबाहेक सबै न्यायाधीश अदालतको कार्यक्षेत्रमा अख्तियारलाई प्रवेश गराएको घटनाप्रति असन्तुष्ट छन् । ईश्वर खतिवडाले मात्र त्यसलाई लिएर अलिक बढी नै आक्रोश प्रकट गरेको ठानिएको छ । कामू नै भए पनि प्रधानन्यायाधीश कार्कीमाथि गाली र अपमानका जे–जस्ता शब्दहरू ईश्वर खतिवडाबाट प्रकट भए त्यसलाई कसैले पनि स्वभाविक रूपमा लिएका छैनन् । स्वयम् दीपकले पनि उक्त अशोभनीय व्यवहार सहन सकेनन् र, त्यस घटनाको भोलिपल्टदेखि नै उनी अदालत आउन छोडे । यसै साताको सोमबारदेखि हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । तर कार्कीले अब अदालत आउँदैनआउने गरी हरिकृष्णलाई कामू दिएको नभइ आफू ‘अस्वस्थ भएकोले स्वस्थ नहुन्जेलका लागि’ भनिएको छ ।
यसरी अवकाश पाउन दुई महिना मात्र समय बाँकी रहँदा कामू प्रधानन्यायाधीश कार्की आफ्ना सहकर्मीहरूबाट अपमानित र उपेक्षित भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रले पनि चरम अपमान र उपेक्षाको सामना गरिरहेका छन् । यसअघि सुशीला कार्कीसहितका केही न्यायाधीशबाट गोपाल पराजुलीको मानमर्दन भएको थियो भने कामू प्रधानन्यायाधीश दीपकराज जोशी र स्वयम् सुशीला कार्कीले पनि कार्यकालको अन्तिम समयतिर चरम अपमानको सामना गर्नु परेको थियो । दीपक कार्कीमाथिको व्यवहारलाई पनि त्यसैको निरन्तरता मानिएको छ ।
ईश्वर खतिवडाका आलोचकहरूले चाहिँ छोरा अपूर्वलाई उच्च अदालतको न्यायाधीश बनाउने बाटो छेकिदिएको रिस दीपक कार्कीमाथि पोखिएको टिप्पणी गरेका छन् । न्यायपरिषद्ले दुई दर्जनभन्दा बढी न्यायाधीश नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्यसनिम्ति उम्मेदवार बन्ने शर्तहरू निर्धारण गर्दा कामू प्रधानन्यायाधीश कार्कीले ईश्वर खतिवडाका छोरा उम्मेदवार बन्न नमिल्ने गरी मिलाएको र, सोही कुराले खतिवडालाई क्रुद्ध तुल्याएको एकथरीको भनाइ छ ।
प्रतिक्रिया