चन्दा+अन्ना हजारे र नेपालको हिरो !

चन्दा+अन्ना हजारे र नेपालको हिरो !


यिनलाई थाहा छ- करोडौँ लगानी ओइराएर दुर्गम इलाकाका जनताको संस्कृति मास्न इसाइकरण द्रूतगतिमा भैरहेको छ, यिनलाई थाहा छ ब्राह्मणवादविरुद्धमा लड्न भन्दै अर्धदस्ता तयार गरिरहेको जानकारी यिनलाई राम्रोसँग थाहा छ । यी सबै कुरामा यिनी जानकार छन् तर बोल्दैनन्, किनकि यहाँ कोही अन्ना हजारे छैन जसले चन्दा दिनेको नामावली ठेगाना सार्वजनिक गरेर अभियान छेडोस् !
  • मोहन लामा रुम्बा

समाजसेवी अन्ना हजारेले सन् २०११ मा भारतमा भ्रष्टाचार निर्मुल गर्न ‘जन लोकपाल विधेयक’ पास गर भन्दै दिल्लीमा ठूलो आन्दोलन चलाए । आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न नामी हस्तीहरू धर्नामा सहभागी हुँदै गए । यो आन्दोलन चलाउन भित्री कोर कमिटीमा बसेर तीन जनाले व्यवस्थापन गर्दै थियो, दिल्लीको हाल मुख्यमन्त्री केजरीवाल, प्रशान्त भुषण र किरण वेदीले सबै व्यवस्थापन गर्दै आइरहेको थियो, भारतको प्रमुख मूलधारको अखबार टेलिभिजन सबै अन्ना हजारेको आन्दोलनको चौबिसै घण्टा ब्रेकिङ न्युज भन्दै प्रसारण गर्दै थियो । अन्ना हजारे आफैंमा एक निष्कलङ्क गान्धीवादी अभियान्ता थिए, त्यसमाथि मिडियाले पनि आन्दोलनलाई हावा भरिदिएपछि आन्दोलनमा दैनिकी पचासौँ हजारको भिड जुट्दै जान थाल्यो ।

लोकपाल विधेयक मुद्दाले जब गम्भीर रूप लिन थाल्यो भारतीय खुफिया एजेन्सीले सरकारलाई खतराको सङ्केत दिँदै यो आन्दोलन बाहिरी मुलुकको लगानीमा भइरहेकोे छ भनेर भित्री रूपमा सतर्क गरायो । केन्द्र सरकारलाई सतर्कता अपनाउन सुझाव दिएपछि सरकारको प्रतिनिधिले अन्ना हजारेलाई भेटेर तपाईंको माग ठिक या बेठिक अलग्गै बहस हुन सक्छ, तर तपाईंको आन्दोलन विदेशी लगानीमा भइरहेको छ भनेर जानकारी गराएपछि अन्ना हजारेले आन्दोलन सञ्चालन गरिरहेको व्यवस्थापनसँग आयव्यय हिसाबकिताब पारदर्शी गर्न माग गरे । जब हिसाबकिताब फाइल पल्टाएर हेर्दा के देखियो भने दशदेखि २०/२५ लाखसम्म चन्दा दिने दाताहरू सबै नक्कली ठेगाना भएको पाइयो । आन्दोलनको लागि २५ लाखसम्म चन्दा दिने दाता खोज्दै जाँदा दिल्लीको झुपडबस्तीमा बस्ने एकजना रिक्साचालक भेटियो । कोही पाँच लाख, दस लाख चन्दा हाल्ने दुर्गम गाउँमा बस्ने अनपढ गरीब किसान भेटिए भने धेरैजस्तो नक्कली ठेगाना भएको भेटेपछि अन्ना हजारेले ‘दाल में कुछ तो काला है’ भन्दै आन्दोलन स्थगन गर्न सरकारसँग बीचको बाटो अिपनाए । सरकारले पनि अन्ना हजारेको माग बिस्तारै पूरा गर्दै जाने भन्दै र, हजारेले पनि भोलि गएर सरकारले पूरा गरेन भने फेरि आन्दोलन गर्ने भनेर कार्यक्रम स्थगन गरियो ।

अन्ना हजारे त स्वच्छ छविका थिए । उनको उद्देश्य पवित्र थियो तर उनको साधुपनको फाइदा उठाएर लाभांश लिएर आफ्नो दुनो सोझ्याउने बारे उनलाई के थाहा ? एकपटक ‘कपिल शर्मा शो’मा उनलाई केजरीवाल बारेमा प्रश्न सोध्दा उनले जवाफ दिएका थिए- ‘भगवानले हामीलाई तिम्रो मनमा के छ मलाई थाहा हुन्न, मेरो मनमा के चलिरहेको छ तिमीलाई थाहा हुन्न !’
अन्ना हजारेले आफ्नो दिल्लीमा आयोजित पहिलो आन्दोलनमा देशी-विदेशी ‘घुसपैठ’ भएको आशङ्का गर्दै अब पारदर्शी ढङ्गले आन्दोलन गर्ने भन्दै पुनः त्यही ‘जन लोकपाल’ विधेयक मागलाई दोहोऱ्याएर आफ्नै रालेगन सिद्धीस्थित आश्रममा अनशन बसेर आन्दोलनको घोषणा गऱ्यो !

आन्दोलनको घोषणा गर्दै अनशनमा त बसियो न कुनै राष्ट्रिय स्तरको पत्रपत्रिकाले समाचार दियो न कुनै नाम चलेको समाजसेवी मानवअधिकारवादीहरू नै आए, न कुनै वलिउड कलाकारहरू आएर हाम्रो पनि ऐक्यबद्धता भन्दै आए ! कोही छैन वरिपरि सुनसान छ ! त्यही आश्रममा बस्ने अनि रालेगानका स्थानीय ब्यक्तिहरू मात्रै झुम्मिरहे । आन्दोलनमा आयव्यय सबै पारदर्शीसहितको आन्दोलन भन्दै गरेको अन्ना हजारेको अनशन अन्ततः एक हप्तामा स्थगन गर्नुप¥यो ।

यस घटनाबाट हामीले धेरै पाठ सिक्न सक्छौँ, अन्ना हजारेको उद्देश्य त पवित्र नै थियो, उनी निष्कलङ्क पात्र हुन् भन्नेमा कुनै सन्देह छैन, तर यस्ता निष्कलङ्क साधु पात्रहरूलाई कसरी उपयोग र प्रयोग गर्ने रहेछ देशीविदेशी माफियाहरूले भनेर बुढेसकालमा आएर अन्ना हजारेले बल्ल बुझ्न थाले ।

उनको बढाइचढाइ गरेर हिजो प्रत्येक मिडियाको हेडलाइन समाचार बनेको त बेनामे चन्दाबाट विज्ञापन समाचार पो रहेछ, वलिवुडका कलाकारदेखि नाम चलेका नामुद मानवाधिकारवादी, नागरिक अधिकारकर्मीहरू त गोप्य चन्दाबाट खल्ती भरेर पो उनको आन्दोलनमा ऐक्यबद्धता भन्न आएका रहेछन् भन्ने बल्ल बुझे ! उनको माग त के पूरा हुनु तर उनको आन्दोलनलाई गुप्त लगानी ओइराउने शक्तिले अरविन्द केजरीवाललाई भारतको राजनीतिमा स्थापित गरेर अन्ना हजारेलाई उखुको रस चुसेर फालेको छोक्रा जस्तो पारेर मिल्काए ।

नेपालमा पनि नेपालको अन्ना हजारेको रूपमा गोविन्द केसीलाई उठाइरहेकोे हुन्छ, उनको सादगीपन उनको त्याग–तपस्या मिडियामा ओइरो लगाइरहेकोे हुन्छ, बेला-बेलामा अनशनमा बस्छन्, दैनिक अखबार एवम् मिडियाको मुख्य पृष्ठमा कभर हुन्छ । त्योभन्दा स-साना मिडिया युट्युबहरूको ताँती त हुने नै भयो । तर पख्नुस् अन्ना हजारे जस्तै चोखो पवित्र स्वार्थरहित उनको माग होला तर त्यो मागभित्रको भित्री कथाबाट स्वदेशी लगानीकर्ताको अवस्था के हुन पुग्छ भनेर थोरै सम्बन्धित क्षेत्रका नेपालीलाई मात्रै थाहा छ, आवश्यकता परे कुनै दिन सविस्तार बाहिर ल्याएर आउने नै छु ।

अहिले अर्को हिरो आएको छ राजनीतिक बजारमा रवि लामिछाने ! यो ‘हिरो’लाई अहिले तत्कालै मार्केटमा उतार्नुको एउटै कारण हो राजनीतिक बजारमा लिङ्देनको मार्केटलाई काउन्टर गर्नु, त्योभन्दा अर्को केही होइन ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता प्रचण्ड देउवा ओलीको मार्केट ओरालो लाग्दै गएपछि नयाँ बोतलमा पुरानै रक्सी राखेर व्यवस्था त ठिकै हो ‘पात्र’ पो खराब हो भन्दै ०६३ पछिका नयाँपुस्तालाई अलमल्याएर व्यवस्थाको आयु वृद्धि गर्न ल्याएको सिखण्डीबाहेक लामिछाने अर्को केही होइन र त्यसैको लागि ‘गुप्त चन्दा’ दिने मालिकहरूबाट आज उनको पूर्व-पश्चिम अभियान चल्दै छ । यिनी नागरिकता विधेयक बारेमा मौन बस्छन्, यिनी एमसीसी बारेमा मौन बस्छन्, यिनी एसपीपी बारेमा मौन बस्छन्, यिनी राज्यलाई खोक्रो पार्ने आइएनजीओको लगानी बारेमा मौन बस्छन्, यिनी नेपालको परराष्ट्र नीति बारेमा मौन बस्छन्, यिनी विश्व बैंकदेखि एशियाली बैंकको नेपालमा प्रत्येक्ष-परोक्ष अर्थतन्त्रमाथि हुने हस्तक्षेप बारेमा मौन बस्छन् । यिनलाई थाहा छ- करोडौँ लगानी ओइराएर दुर्गम इलाकाका जनताको संस्कृति मास्न इसाइकरण द्रूतगतिमा भैरहेको छ, यिनलाई थाहा छ ब्राह्मणवादविरुद्धमा लड्न भन्दै अर्धदस्ता तयार गरिरहेको जानकारी यिनलाई राम्रोसँग थाहा छ । यी सबै कुरामा यिनी जानकार छन् तर बोल्दैनन्, किनकि यहाँ कोही अन्ना हजारे छैन जसले चन्दा दिनेको नामावली ठेगाना सार्वजनिक गरेर अभियान छेडोस् ! त्यसैले यी राजनीतिक फाँटमा उतारेका हिरो यस्तो विषयमा फिटिक्क बोल्दैनन् किनकि, जोडदार अभियानको लागि खर्च चाहिन्छ, खर्चको लागि सबको मालिक एक ! बाँकी बुझ्ने जिम्मा पाठकहरूमा…!