हिमानीलाई घाँटीको इन्फेक्सन

हिमानीलाई घाँटीको इन्फेक्सन


पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटीमा सङ्क्रमण भएको छ । हिमानी ट्रष्टको कार्यक्रमका लागि अष्ट्रेलिया पुग्नुभएकी उहाँ अकस्मात घाँटीमा समस्या उत्पन्न भइ थुक निल्नसमेत गाह्रो भएपछि निर्धारित समयअघि नै स्वदेश फर्कनुभएको छ । घाँटीको सङ्क्रमणसँगै उहाँलाई उच्च ज्वरो आएको थियो ।

प्राप्त जानकारीअनुसार अहिले उहाँ निर्मल निवासमै उपचार गराइरहनुभएको छ । अष्ट्रेलियामा उहाँका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो । अष्ट्रेलियामा रहेका नेपाली समुदायका साथै अष्ट्रेलियन सरकारका अधिकारीहरूसँग पनि भेटघाटको कार्यक्रम राखिएको थियो । यहाँबाट स्वस्थ अष्ट्रेलिया पुग्नुभएकी उहाँलाई अकस्मात घाँटीमा समस्या आएको थियो । घाँटीको दुखाइसँगै उच्च ज्वरो आएपछि भ्रमण दलमा रहेका सबै स्तब्ध बनेका थिए ।

भ्रमणमा धीरेन्द्र शाहका छोरीहरू सिताष्मा र दिलासाका साथै हिमानीकी दिदी र बहिनीसमेत हुनुहुन्थ्यो । हिमानी ट्रष्टकी सदस्यसचिव रेश्मा राणा हिमानीकी सहोदर दिदी हुन् भने बहिनी चर्मरोगसम्बन्धी चिकित्सक रहेकी छन् । अष्ट्रेलियामा रहेका हिमानी ट्रष्टसम्बद्ध ब्यक्तिहरूले त्यहीँ उपचार गर्न चाहेको भए पनि उहाँको स्वास्थ्यमा आउन सक्ने जोखिमलाई लिएर परिवारका सदस्यले तत्काल फर्कने सुझाव दिएको बुझिएको छ ।