काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डका हरेक माग पूरा गर्न तयार भएपछि निर्वाचन क्षेत्र भागबण्डामा खासै समस्या नआउने स्थिति बनेको छ ।
काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको संयुक्त समितिमा माओवादीले आफ्ना लागि कुल साठी निर्वाचन क्षेत्र मागेको र काङ्ग्रेसलाई पचहत्तर स्थान दिने प्रस्ताव राखेको थियो । काङ्ग्रेसले आफूलाई एक सय नर्वाचन क्षेत्र छोडिदिएर बाँकी ६५ स्थानमा माओवादी, समाजवादी र जसपालगायतका दलहरूले उम्मेदवारी दिन प्रस्ताव गरेको थियो । तर माओवादी पक्ष त्यस कुरामा सहमत हुन सकेन । माओवादी एक्लैले साठी, समाजवादी एक्लैले पच्चीस, जसपाले बीस गरी कुल १०५ भन्दा बढी निर्वाचन क्षेत्रमा दाबी गरेपछि काङ्ग्रेस निकै अप्ठ्यारोमा परेको थियो । शेरबहादुर देउवा आफूले ८५ निर्वाचन क्षेत्र लिएर ८० क्षेत्र गठबन्धनका सहयात्रीहरूलाई दिन तयार हुने स्थिति देखापरेपछि प्रचण्डहरू उत्साही भएका छन् । सकेसम्म काङ्ग्रेसलाई असी निर्वाचन क्षेत्र छोडेर सहमति बनाउने प्रयास प्रचण्डबाट भइरहेको छ ।
आफू र आफ्नी पत्नीको विजय सुनिश्चित गराउने कुरालाई प्राथमिकतामा राखेका देउवाले असी निर्वाचन क्षेत्रमै चित्त बुझाउनुहुने सम्भावना छ । त्यस्तो अवस्थामा काङ्ग्रेस इतिहासमै पहिलो पटक देशको आधा मात्र निर्वाचन क्षेत्रमा उम्मेद्वार उठाउन बाध्य हुनेछ । जहाँ काङ्ग्रेसको उम्मेदवार हुनेछैन, त्यहाँ विद्रोह हुने प्रबल सम्भावना छ । काङ्ग्रेसको असन्तुष्ट पक्ष र एमालेबीच समझदारी बनेको अवस्थामा चुनावी परिणाम नै अनपेक्षित हुनसक्ने पनि देखिएको छ ।
प्रतिक्रिया