अन्ततः माओवादीसँग ‘विलय’को पथमा माधव नेपाल

अन्ततः माओवादीसँग ‘विलय’को पथमा माधव नेपाल


माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको बुधबार बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिएका छन् । बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।

मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचनअघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको हो। नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनअघि एमाले र माओवादीले निर्वाचनपछि एकतामा जानेगरि गठबन्धन गरेका थिए । त्यसबाट एमालेले लाभ लिएको थियो र उ सबैभन्दा ठूलो दल बनेको थियो । त्यसबेलाको फाइदाको स्वाद चाखेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादीसँग एकताको पहल थालेका हुन् ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।
वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बाट हुने उपमहासचिव डा. गंगालाल तुलाधरको भनाइ छ ।

समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्डलगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको उनले बताए । नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको मिति घोषणा हुनुअघि वाममोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतम लगायतका नेता लागेको भए पनि त्यसले मूर्तता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरि निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ तर वाम दलहरुबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् । प्रचण्डले बाबुराम भट्टराईसँग कार्यगत एकता गरेका छन् ।

नेपाली कांग्रेससँग गठबन्धनमा रहेका नेकपा एस र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँट चुनौतीपूर्ण छ । कांग्रेसले धेरै सिटमा दाबी गरिरहँदा आफूहरु कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखेसँगै एकीकृत समाजवादीले माओवादीसँगको एकताको प्रस्ताव राखेको माओवादीका एक नेताले बताए ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाल भने माओवादी केन्द्रसँग भन्दा एमालेसँगको एकताको पक्षमा रहँदा आएका छन् । उनलाई बाइपास गरेर जान सक्ने अवस्थामा माधव नेपाल नभएकाले चुनावअघि नै एकताको सम्भावना कम हुने ती नेताको अनुमान छ ।