केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु

केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु


भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् ।

आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ ।

‘भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो’, बुधबार उनले भनेका छन् ।

भारतलाई विश्वकै सबैभन्दा अग्रस्थानमा रहेको मुलुक बनाउनका लागि सबै भारतीय नागरिकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

अभियान घोषणा समारोहमा उनले भने, ‘यो सबैको जिम्मेवारी र चाहना हो, त्यसैले यो अभियान पनि सबैको साझा अभियान हो, सबैले आ-आफ्नो ठाउँबाट योगदान गरौँ ।’

धेरै वर्षअगाडि भारत विश्वमै सबैभन्दा अग्रस्थानमा रहेको चर्चा गदै केजरीवालले फेरि अग्रपंक्तिमा लैजानका लागि यस अभियानमा सबै नागरिक जोडिनुपर्नेमा जोड दिए ।

यसअघि उनले गत मङ्गलबार देशभरिका सबै बालबालिकाहरुले गुणस्तरीय शिक्षा निःशुल्क पाउनुपर्ने अभिव्यक्ति दिएर चर्चा बटुलेका थिए ।

देशलाई अग्रपंक्तिमा लैजानका लागि हरेक नागरिकले युद्धस्तरमा काम गर्नुपर्नेमा उनले पटक पटक जोड दिए र भने, ‘मसँग एउटा मात्रै सपना छ, भारतलाई विश्वकै सबैभन्दा शक्तिशाली र सबैभन्दा बढी विकसित मुलुक भएको देख्न पाइयोस् ।’

भारत विश्वकै सबैभन्दा बढी धनी मुलुक हुनका लागि सबै भारतीय नागरिक धनी हुनुपर्ने उनको भनाइ छ ।