अधुरो यात्रा

अधुरो यात्रा


  • यश घिमिरे

‘दाइ ! भाडा..’
ट्याम्पोको पछाडि झुण्डिएको लुरे खलासीले आफ्नो मुन्टो भित्र घुसार्दै अनुरोध गऱ्यो ।

‘ओइ ! भाडा दे है !’ – खलासीनजिकैको केटोले अर्कोलाई भन्यो ।

‘साला खाते ! तैँले दिए’नि हुन्छ नि, सधैं अरूलाई तिर्न लाउँछ यार…’ – दोश्रो जङ्गियो ।

‘यो मुलाको साग यस्तै छ भन्या …न्डीको वान, कहिले’ नि भाडा तिर्न अघि सर्दैन, मा’कस्सम !’ अर्को मोटे केटो टेम्पोको दायाँतिरबाट करायो ।

‘तेरो बाऊ मादर…द ! आज एकदिन पे गर्देन भनेको यो मु .. भकुण्डोलाई हेडेक हुन थाल्यो होइन ?’, पहिलो केटो भुत्भुताउँदै पर्स खोल्न थाल्यो ।

‘ओइ मख्खीचुस गोब्रे ! समटाइम्स त पे गर्ने गर् न ! कति रुन्छस् ? …हा हा हा !’- निधारमा सानो टाटो भएको अर्को काले–काले केटोले ब्यङ्ग्य गऱ्यो ।

‘नकरा टाटे ! तँ पनि उहि ड्याङको आलु होस् !’

‘आलु होइन मुला भन् गोब्रे मुला ! हा हा…’

मोटे केटो ठुलो स्वरले हाँस्यो । उसँगै अरुले पनि अस्वाभाविक अट्टहास निकालेर साथ दिए ।

यो अराजक झुण्डहरूको बीच रहेर यात्रा गरिरहेको प्रकाशले उदेकलाग्दो पाराले तिनीहरूलाई हेर्न थाल्यो । अश्लील गालीबिना बोल्नै नआउने केटाहरू ‘प्लस टु’का विद्यार्थीको ड्रेसमा थिए । ट्याम्पोमा अरु दुई महिला र तीन जना पुरुष पनि छन् तर सबजना सुनेको नसुन्यै गरि बसिरहेछन् । ऊ आफै पनि अरु यात्रुझैँ केहि बोल्न सकिरहेको थिएन ।

‘यहाँ हुनेहरूलाई पक्कै यी बेसोमती केटाहरूको भद्दा वार्तालाप प्रियकर त लागेको छैन होला, तर किन कोहि यस्तो नबोल भनेर भन्ने हिम्मत गरिरहेको छैन ?’, उ मनमनै सोच्न थाल्यो- ‘के यिनीहरू घरमा पनि यसैगरि बोल्दाहुन् त ? कस्तो संस्कारमा हुर्केका होलान् ? सार्वजनिक ठाउँमा यसरी बोल्नेको कलेजमा बोल्नेशैली पनि त यस्तै होला ! अनि कलेज प्रशासनले यिनीहरूलाई कुनै कारबाही पनि गर्दैन कि क्या हो ? कारबाही गरेपछि ठुलो रकमको पढाइशुल्क र अनेक बहानामा असुल्ने रकम गुम्ने डरले छुट दिँदा भविष्यका कर्णधारहरू यस्तै-यस्तै गतिछाडाहरू उत्पादन गर्दै जाने हो भने हाम्रो समाज कहाँ पुग्ला ?’

‘ओइ मु …हो चुप लाग है ! मेरो नानीको फोन आयो.. ’, निधारमा टाटो हुने केटो मोबाइल हातमा समाउँदै करायो । उसको चर्को आवाजसँगै प्रकाशको सोचाइ पनि भङ्ग भयो ।

विद्यार्थी पोशाकधारी झुण्ड भने एकापसमा आँखाको इसारा गर्दै र मुसुमुसु हाँस्दै अकस्मात चुपचाप भए ।

‘ओइ डार्लिंङ काँ छेस् तँ ? तेरो …को के छ हालखबर ?’

हुनुसम्मको फोहोर कुरो मुखबाट ओकलेको देखेर प्रकाशलाई असैह्य भएर आयो । यात्रु पनि रातो अनुहार पारेर घोसेमुन्टो लगाउँदै थिए । अति भएपछि उसले प्रतिवाद ग¥यो ।

‘भाइ, तपाईं सार्वजनिक ठाउँमा हुनुहुन्छ । अघिनैदेखि तपाईंहरूको बोलीले हामी सबैलाई अप्ठ्यारोमा पारिरहेको छ । यसरी नबोल्नुस् है !’

‘नत्र के ..?’
टाटेले मोबाइल बन्द गर्दै खाँउला जस्तो अनुहार बनाएर भन्यो ।

प्रकाशलाई अरु यात्रुबाट साथ मिल्नेछ भन्ने विश्वास थियो । त्यहि भएर केही हिम्मत जुटाएर भन्यो- ‘नत्र तपाईंहरूलाई टेम्पोबाट घोक्र्याउन हामी बाध्य हुनेछौँ ।’

टेम्पोको छतमा बेस्सरी मुड्की बजार्दै टाटे चिच्यायो-
‘ओइ ड्राइभर, टेम्पु रोक् ।’

उ सँगसँगैै उसका साथीहरू पनि उग्र भएर भएभरको अश्लील शब्द ओकल्दै गाडी रोक्न दबाब दिए । कोकोहोलो जस्तो स्थितिको सृजना भएपछि ड्राइभरले गाडी साइडमा लगायो ।

रोकिनासाथ उनीहरूको झुण्ड जऱ्याकजुरुक गाडीबाट झऱ्यो । यस्तो अप्रत्यासित स्थितिको कल्पना प्रकाशले र अरु यात्रुहरूले गरेका थिएनन् शायद । बाँकी यात्रु सबैलाई एकप्रकारको चिसो डरले गाँज्यो । केही सोच्न पाउँदानपाउँदै टाटे र अर्को केटोले उसको सर्टको कलरमा समातेर जोडसँग टेम्पोबाट तल ताने । उ घोप्टो अनुहारसहित पिच सडकमा डङ्ग्रङ्ग बजारियो । नाक फक्लक्कै फुटेर सडकमा एकमाना रगत हुलुल्ल बग्दाबग्दै उमाथि सहस्र लात्ती र मुड्कीको वर्षा हुन थाल्यो । आफूमाथि बज्रिँदै गरेको प्रहारलाई सम्भव भएसम्म दुवै हातले छेक्दै ड्राइभर, यात्रुहरू र कौतुहलवश हेर्न थालेका बटुवाहरूप्रति बचावटको लागि आशालाग्दो अनुहारले हेर्न थाल्यो । एकजना पनि ‘किन कुटेको ? कुरो के हो ?’ भन्ने मान्छे देखेन । उ त्यसैगरि निकैबेर कुटिइरह्यो ।

‘साले ! खुब हिरो बन्या’थिस् होइन ? भेटिस आज । ओइ केटा हो हिँड जाउँ अब । यति भएसि यस्लाई डोज पुग्यो ।’– कुट्नेहरू नै थाकेपछि टाटेले अर्डर गऱ्यो ।

अचम्म ! अरु यात्रुहरू मुर्तिवत गाडीभित्रै बसिरहेका थिए । उनीहरूको लागि मानौँ त्यहाँ केही भएकै थिएन । बाटोमा हिँड्ने बटुवाहरू पनि उसैगरि चुपचाप रमिते बनिरहेका थिए ।

‘जाउँ जाउँ गुरु !’- मोटेले ड्राइभरलाई आदेश दियो । ड्राइभरले लुरुक्क परेर टेम्पो स्टार्ट गऱ्यो ।

एक मुस्लो कालो धुँवाले सडकमा लडिरहेको प्रकाशलाई छोप्यो । बिस्तारै बटुवाहरू पनि आफ्नो-आफ्नो बाटो लाग्न सुरु गरे ।

केहिबेरपछि शरीरमा लागेको धुलो लिएर उठ्यो प्रकाश, तर दुई पाइला सार्ना’साथ हिँड्न गाह्रो भएको अनुभूति भयो । अनि सडक पेटीमा घाइते मन र शरीर लिएर टुक्रुक्क बस्दै पारिजातलाई सम्झ्यो ।

पारिजातले कतै लेखेकी थिइन्– ‘घैलाका घैला पानी खन्याए पनि हामी नेपालीहरू ब्युँझिन्नौँ, किनकि हामी सबै एक किसिमको मुर्दा हौँ… मुर्दा । सास भएको मुर्दा ।’

  • हाल चितवन